
काठमाडौं ।
निकोनले आफ्नो प्रोडक्ट लाइनअप विस्तार गर्ने कार्यलाई जारी राखेको छ। हालै जेड८ फुल फ्रेम क्यामरा ल्याएको कम्पनीले अब जेड एफ फुल–फ्रेम मिररलेस क्यामरा सार्वजनिक गरेको छ। नोस्टाल्जिक लुक्सका साथ कटिङ्ग–एज टेक्नोलोजी (अत्याधुनिक प्रविधि) फिचर गर्दै क्यामराले आफ्नो डेब्यूदेखि नै प्रयोगकर्ताको चासोलाई सफलतापूर्वक खिचेको छ।
निकोनले ‘जेड एफ’ नामक रेट्रो– इन्सपायर्ड डिजाइन सहितको फुल–फ्रेम मिररलेस क्यामराको रिलीजको घोषणा गरेको छ। यस नयाँ क्यामरामा २४.५–मेगापिक्सेल फुल–फ्रेम सेन्सर, निकोनको हायर–इन्ड जेड८ र जेड९ क्यामराहरूमा रहेको उही इएक्सपीइइडी ७ प्रोसेसरका साथै अन्य उन्नत फिचर्सहरू समावेश गरिएको उल्लेख छ।
यो विशेष गरी क्लासिक लुक र फिल भएको क्यामरा चाहनेहरूका लागि उपयुक्त हुने जनाइएको छ। क्यामराको बडी एल्युमिनियमबाट बनेको र यसमा धेरै ओटा रेट्रो डिजाइन तत्वहरू जस्तै एक्सपोजर सेटिङ्गहरूका लागि डेडिकेटेड डायलहरू सहितको टप प्लेट र क्लासिक निकोन लोगो फिचर गरिएको छ।
यस क्यामरामा रेट्रो डिजाइन समावेश गरिए तापनि ‘जेड एफ’ एक आधुनिक क्यामरा रहेको जनाइएको छ। यस क्यामरामा निकोनको नयाँ पिक्सेल शिफ्ट मोड सहित इमेजिङ टेक्नोलोजीमा नवीनतम संग सुसज्जित रहेको र यसले प्रयोगकर्ताहरूलाई ९९ मेगापिक्सेल सम्मको रिजोल्युसनमा तस्बिरहरू खिच्न अनुमति दिनेछ। त्यसैगरी क्यामरामा १० बिट एच.२६५ रेकर्डिङ्ग र निकोनको एन–लग र फ्ल्याट पिक्चर कन्ट्रोल प्रोफाइल्सको लागि समर्थन जस्ता उन्नत भिडियो फिचर्सहरूको विविधता पनि समावेश गरिएको उल्लेख छ।
जेड एफ अक्टोबर २०२३ मा १,९९९.९५ अमेरिकी डलरको मूल्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ। साथै यो नयाँ जेड एफ क्यामरा ब्ल्याक र सिल्भर गरी दुई रङ्गहरुमा बिक्री गरिने थप उल्लेख गरिएको छ।
प्रकाशित: ६ आश्विन २०८०, शनिबार