
काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यकामा हरियाली निर्माणमा योगदान पुर्याउँदै ललितपुर महानगरपालिकासंँगको सहकार्यमा महानगरपालिकाको वडा नं. १ मा रहेको बागमति कोरिडोर सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ।
यो पहलले समग्र समुदायका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पु¥याउने छ र कम्पनीको जलवायु परिवर्तनसँग सम्बन्धित लक्ष्यहरू पूरा गर्न सहयोग गर्नुका साथै सरकार तथा सहरलाई दिगो विकास लक्ष्यहरू हासिल गर्न योगदान तथा मद्दत पुर्याउँछ । बिहीबार एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन्।
कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’मा ललितपुर महानगरपालिका, वडा नम्बर १ स्थित बागमती करिडोर रोडको दायाँ बायाँ २०० भन्दा बढी रुख रोपिएका छन्। एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा ‘हामी तपाईंकै लागि’ थिमले एनसेल नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दछ ।
वृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “मलाई लाग्छ हाम्रो जीवनमा तीन ओटा कुरा महत्वपुर्ण छन्-घर बनाउने, बच्चा हुर्काउने र रुख रोप्ने । शहरमा हरियाली प्रर्वद्घन र विकासका लागि यस पहलमा ललितपुर महानगरपाललिकासँग हातेमालो गर्न पाएकोमा म आज निकै गौरवान्वित छु। उपत्यकालाई स्वच्छ र हराभरा शहर बनाउन योगदान पुर्याउँदै यी आज रोपिएका रुखहरु लामो समयसम्म रहुन् भन्ने मेरो आशा छ । आफ्नो समाजमा र समुदाय हितका लागि सदैव काम गर्ने एनसेल एक जिम्मेवार कम्पनी हो । यस हरियाली प्रर्वद्घनको कार्यमा महानगरपालिकासँग सहकार्य गर्दै हाम्रो सहकार्य अझै सुदृढ बनाउन पाएकोमा हामी खुसी छौं । वातावरण संरक्षणमा योगदान गर्ने हाम्रो प्रतिबद्घताप्रति हामी समर्पित छौं।”
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि विगत दुई वर्षदेखि एनसेलसँग सहकार्य गर्दै आएको बताए । “यस वृक्षारोपणको लागि महानगरपालिका र वडा १ को तर्फबाट म एनसेललाई धन्यवाद दिन चाहन्छु । हाम्रो सहकार्यलाई निरन्तरता दिदै बागमती करिडोरमा यो वृक्षारोपण गर्न पाउँदा हामी धेरै खुसी छौं र यस्ता असल कार्यका लागि अन्य आवश्यक सहयोग गर्न पनि हामी प्रतिबद्ध छौं ।”
एनसेलले वन तथा भूसंरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रिङरोडको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण र मर्मत सम्भार गर्ने कार्य गर्दै आईरहेको छ ।
‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य कार्यक्रमहरुको पनि आयोजना गरिने कम्पनीले जनाएको छ।
प्रकाशित: ४ आश्विन २०८०, बिहीबार