काठमाडौं ।
अर्बपति इलन मस्कको ब्रेन (दिमाग) चिप स्टार्टअप न्यूरालिंकले मानिसको दिमागमा चिप राख्ने भएको छ। न्यूरालिंकले प्यारलाइस (पक्षाघात)का बिरामीहरूको लागि मस्तिष्क प्रत्यारोपणको पहिलो मानव परीक्षणको लागि भर्ती सुरु गर्न स्वतन्त्र समीक्षा बोर्डबाट स्वीकृति प्राप्त गरेको मंगलबार जानकारी दिएको छ।
सर्भाइकल स्पाइनल कर्ड वा एमियोट्रोफिक लेटरल स्क्लेरोसिसका कारण पक्षाघात भएकाहरू अध्ययनको लागि योग्य हुन सक्छन्। तर यस परीक्षणमा कति जना सहभागी हुनेछन् भनेर बताइएको छैन। यो परीक्षण पुरा हुन करिब ६ वर्ष लाग्नेछ।
अध्ययनमा मस्तिष्कको कुनै क्षेत्रमा ब्रेन-कम्प्यूटर इन्टरफेस (बीसीआई) इम्प्लान्टलाई सर्जिकल रूपमा राख्नका लागि रोबोटको प्रयोग गरिनेछ। यसले हल्निे घुम्ने उद्देश्यलाई नियन्त्रण गर्दछ। यसको प्रारम्भिक लक्ष्य भनेको आफै एक्लै विचार प्रयोग गरेर।मानिसहरूलाई कम्प्युटर कर्सर वा किबोर्ड नियन्त्रण गर्न सक्षम पार्नु भएको न्यूरोलिंकले बताएको छ।
कम्पनीले सुरुमा १० बिरामीहरूमा आफ्नो डिभाइस प्रत्यारोपण गर्न स्वीकृति प्राप्त गर्ने आशा गरेको थियो। वर्तमान र पूर्व कर्मचारीहरू अनुसार एजेन्सीले सुरक्षा चिन्ताहरू उठाएपछि यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) सँग बिरामीहरूको कम संख्यामा वार्ता गरिरहेको थियो। अन्तिममा एफडीएले कति बिरामीलाई स्वीकृत दिएको जानकारी नभएको रोयटर्सले उल्लेख गरेको छ।
न्यूरालिंकको लागि मस्कको ठूलो महत्वाकांक्षा छ। यसले मोटोपना, अटिजम, डिप्रेसन र सिजोफ्रेनिया जस्ता अवस्थाहरूको उपचार गर्न आफ्नो चिप डिभाइसहरूको द्रुत सर्जिकल प्रविष्टिलाई सुविधा दिने मस्कले बताएका छन्।
गत मे कम्पनीले एफडीएबाट पहिलो-मानव क्लिनिकल परीक्षणको लागि क्लियरन्स प्राप्त गरेको बताएको छ। कम्पनी पहिले नै पशु परीक्षणको ह्यान्डलिंगको लागि संघीय छानबिनमा थियो।
विज्ञहरूका अनुसार बीसीआई डिभाइसले मानव प्रयोगको लागि सुरक्षित भएको प्रमाणित भए पनि स्टार्टअपलाई व्यावसायिक प्रयोगको अनुमति प्राप्त गर्न अझै एक दशक भन्दा बढी समय लाग्ने छ।
प्रकाशित: ४ आश्विन २०८०, बिहीबार