दूरसञ्चार प्राधिकरण भित्र टेरामोसले त्रास, अध्यक्ष खनालसहित दर्जनौं कर्मचारीसँग अख्तियारको बयान

Technology Khabar ३१ भाद्र २०८०, आईतवार

काठमाडौं ।

शुरुवातदेखि नै निरन्तर विवादमा पर्दै आएको टेरामोस वा टेरामोक्स समेत भनिने प्रणाली खरिद प्रकृयामा नै आशंका गर्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले तिब्रगतिमा अनुसन्धान गरिरहेको छ।

अख्तियारले सो विषयका सम्बन्धित सबै फाइलहरु नेपाल दूरसञ्चार प्राधिकरणबाट यसअघि नै लगिसकेको छ भने अहिले धमाधम सम्बन्धित अधिकारीहरुसँग बयान लिईरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले जसरी पनि सो प्रणाली लागू गर्ने तयारी र योजनासहित अगाडि बढेपछि चौतर्फी विरोध हुँदै आएको छ। तर पनि प्राधिकरणले सो प्रणाली लागू गर्ने तयारीका साथ मिडियाबाजी गरेसँगै प्रधानमन्त्रीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसमेत रुष्ट भएका छन्।

मन्त्रालयले टेरामोसको लागि चालु आर्थिक वर्षमा छुट्याईएको बजेटसमेत रोकिदिएको छ भने सो बारेमा थप जानकारी लिईरहेको छ।

यसअघि नै सरकार र प्रधानमन्त्रीको निर्णय विपरित बयानबाजी र गतिबिधि गरेको आरोप भोगिरहेको प्राधिकरण नेतृत्वलाई हाल अख्तियारले टेरामोसको बारेमा बयानका लागि बोलाएको छ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई अख्तियारले आईतबार आयोगको कार्यालय टंगालमा नै बोलाएर बयान लिएको स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दिएको छ।

“उनलाई यसअघि नै पत्र काटेर बयानका लागि आउन भनिएको थियो। आज बयान लिएको छ,” स्रोतले भन्यो।

त्यसअघि नै अख्तियारले प्राधिकरणका विभिन्न तहका अधिकारीहरु र प्राधिकरणका बोर्ड सदस्यहरुसँग क्रमशः बयान लिईसकेको छ।

प्राधिकरणले गत सातादेखि नै चरणबद्धरुपमा प्राधिकरणका ७ मध्ये ५ निर्देशकहरु र अन्य अधिकारीहरुलाई बोलाएर बयान लिएको छ भने शुक्रबार प्राधिकरण बोर्ड सदस्यहरुसँग बयान लिएको थियो।

अख्तियारले बयान लिने पत्र पठाएपछि सो प्रणाली हेर्ने मुख्य जिम्मेबार प्राधिकरणका पूर्वाधार महाशाखा प्रमुख भने विदेश यात्रामा लागेको बताईएको छ। अख्तियारले नियमन महाशाखा र कानुन तथा अनुमतिपत्र महाशाखाका निर्देशकबाहेक अन्य सबै निर्देशकहरुको बयान लिईसकेको छ।

स्रोतकाअनुसार सो प्रणाली खरिदमा प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न भएका सबै कर्मचारीहरुसँग क्रमशः बयान लिईनेछ। जसमा २०७४ सालदेखि सो प्रकृयामा संलग्न र आबद्ध भएका विभिन्न कर्मचारीहरुसँग बयान लिईएको बताईएको छ।

प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले नै संस्थाका कर्मचारीहरुको नाम अख्तियारमा पठाएको स्रोतले जानकारी दिएको छ।

“अख्तियारले प्राधिकरणबाट मात्रै २०* कर्मचारीहरुको बयान लिने भएको छ,” स्रोतले दाबी गरेको छ, “यसका साथै प्राधिकरणका यसअघिका बोर्ड सदस्यहरु र वर्तमान बोर्ड सदस्यसहित अध्यक्षसँग बयान लिएको हो।”

प्राधिकरणका कर्मचारीहरुलाई सो प्रणालीको शुरुवात, औचित्य र प्राविधिक विषयलगायतका बारेमा प्रश्नहरु सोधिएको बताईएको छ।

अख्तियारको बयानसँगै टेरामोसले प्राधिकरणमा ‘त्रास’ सिर्जना गरेको एक अधिकारीले गुनासो गरे।

“यसमा शुरुवातदेखि आबद्ध भएका सबै कर्मचारीहरुसँग बयान लिईएको छ। यसले कर्मचारीहरुलाई आगामी दिनमा वर्तमान नेतृत्वको निर्देशनमा काम गर्न कठिन बनाउनेछ। यसले कर्मचारीहरु बीचमा नै शंका पैदा गराएको छ,” ती अधिकारीले भने।

यस्तै अर्का एक अधिकारीले प्राधिकरण नेतृत्वको गैर जिम्मेवारीपन र सरकारको निर्णय विरुद्ध जाने हठले संस्थालाई नै समस्यामा पारेको जिकिर गरे।

“यसको सबै जिम्मेबारी नेतृत्वले लिनुपर्दछ। टेरामोस किन ल्याईयो र कस्का  लागि ल्याईयो भन्ने नेतृत्वले औचित्य पुष्टि गर्नुपर्छ। नेतृत्व र कर्मचारीहरुबिच अब थप अविश्वास र खाडल बनाएको छ।” ती अधिकारीले भने, “अब यसमा कर्मचारीहरुलाई फसाएर नेतृत्व चोखिन सक्दैन्।”

*यसअघि अन्यथा पर्न गएकोले सच्याईएको छ।- सम्पादक

प्रकाशित: ३१ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया