Technology Khabar २६ भाद्र २०८०, मंगलवार
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले हचुवाको भरमा सिनामंगल क्षेत्रमा इन्टरनेटको तारहरु काटिदिएको छ। वडा कार्यालयले इन्टरनेटको तार काटेर बाटोमा छरपस्ट पारेसँगै सो क्षेत्रमा इन्टरनेट सेवा ठप्प भएको छ।
यसअघि महानगरपालिकाको कार्यालयमा सहकार्य गरेर मात्र इन्टरनेट तार काट्ने र व्यवस्थापन गर्ने सहमति सेवा प्रदायकहरु र महानगरपालिकाका अधिकारीहरु बिच भएको थियो।
तर आज सो सहमति विरुद्ध गई जानकारी नै नदिई महानगरपालिका वडा कार्यालयले तार काटिदिएको गुनासो इन्टरनेट सेवा प्रदायकहरुले गरेका छन्।
यसैसाता २४ गते आइतवार मात्रै महानगरपालिकाले जथाभावीरुपमा इन्टरनेटको तार नकाट्ने सहमति गरेको थियो।
तर इन्टरनेट सेवाको तार काटिँदा सिनामंगल रोड तथा केएमसी अस्पताल क्षेत्रमा सेवा अवरुद्ध भएको हो।
तार काटिदिएसँगै सेवा प्रदायकहरुले तार जोडेर सेवा पुनः संचालन गर्ने कार्य गरिरहेको बताईएको छ।
यसले ग्राहकहरुको इन्टरनेट सेवा प्रभावित भएको सेवा प्रदायकहरुले जनाएका छन्।
सोहि वडा क्षेत्रमा यसअघि पनि हचुवाको भरमा इन्टरनेटको तार काटिदिँदा सेवाग्राहीहरु मर्कामा परेका थिए।
प्रकाशित: २६ भाद्र २०८०, मंगलवार