Technology Khabar २६ भाद्र २०८०, मंगलवार
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभेरन्स रोभर सन् २०२१ मा मंगल ग्रहको सतहमा अवतरण गरेको थियो। त्यसयता यो रोभर नमूना संकलन गर्न त्यहाँ घुमिरहेको छ।
पर्सिभेरन्सको उद्देश्य मंगल ग्रहबाट चट्टानको नमूनाहरू सङ्कलन र तिनीहरूलाई सुरक्षित राख्नु हो। ती नमूनाहरूलाई पृथ्वीमा फिर्ता ल्याउन अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०३० सम्ममा एउटा मिसन प्रक्षेपण गर्न सक्नेछ। यो रोभरले धेरै उपकरणहरू पनि साथमा लगेको छ, जसमध्ये एउटा हो मोक्सी MOXIE (Mars Oxygen In-Situ Resource Utilization Experiment)। जसले मंगल ग्रहको वायुमण्डलमा अक्सिजन उत्पादन गरेर इतिहास रचेको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकाअनुसार यो सफलता भविष्यमा मंगल ग्रहमा मानव बस्ती बसाउन बनाउन प्रभावकारी हुनसक्छ। यद्यपि यो केवल एक प्रयोग थियो। मोक्सीले मंगल ग्रहमा मात्र १२२ ग्राम अक्सिजन उत्पादन गर्यो। जसले एउटा सानो कुकुरलाई १० घण्टासम्म सास फेर्न यति अक्सिजन पर्याप्त हुने नासाले जनाएको छ।
यसले प्रतिघण्टा १२ ग्राम अक्सिजन उत्पादन गर्न सफल भएको थियो जुन नासाको अपेक्षा भन्दा दोब्बर भएको बताएको छ।
पृथ्वीबाट करिब ४० करोड किलोमिटर टाढा अक्सिजन उत्पादन भएको हुनाले यो उपलब्धि महत्वपूर्ण छ। नासाका उपप्रशासक पाम मेलरोयले यस्ता प्रविधिको विकासले मानवलाई लामो समयसम्म चन्द्रमा र मंगल ग्रह जस्ता ठाउँमा बस्न र मानवीय अभियानहरू अगाडि बढाउने शक्ति प्रदान गर्ने बताए।
नासाले मोक्सीले राम्रो तरिकाले अक्सिजन उत्पादन गरेको बताएको छ। मंगल ग्रहको चरम अवस्थाको बावजुद, यसले वर्षभरि त्यहाँ अक्सिजन उत्पादन गर्न सक्छ। यो उपकरणले मंगल ग्रहको वायुमण्डलमा रहेको प्रत्येक कार्बन डाइअक्साइड परमाणुबाट प्रत्येक अक्सिजन एटमलाई अलग गरेर अक्सिजन उत्पादन गर्दछ।
यसरी सङ्कलन हुने अक्सिजनले भविष्यमा अन्तरिक्ष यात्रीहरूका लागि सास फेर्ने हावाको रूपमा काम गर्न सक्ने नासाले जनाएको छ।
नासाले भविश्यमा मंगल ग्रहमा अक्सिजन उत्पादन गरेर तरल रुपमा भण्डारण गर्न सकिने प्रविधि र उपकरण विकास गरिने उल्लेख गरेको छ।
यसैगरी यो रकेट प्रोपेलेन्ट उत्पादन गर्न पनि प्रयोग गर्न सकिन्छ। यदि यसो भयो भने, भविष्यमा मंगल ग्रहको मिसनहरू अझ व्यावहारिक हुन सक्छन्। पृथ्वीबाट कम इन्धन बोक्नुपर्नेछ, धेरैजसो इन्धन मंगल ग्रहमा उपलब्ध हुनेछ।
प्रकाशित: २६ भाद्र २०८०, मंगलवार