कपर केबललाई फाइबरमार्फत धमाधम प्रतिस्थापन गर्दै नेपाल टेलिकम

  • Technology Khabar | २४ भाद्र २०८०, आईतवार
कपर केबललाई फाइबरमार्फत धमाधम प्रतिस्थापन गर्दै नेपाल टेलिकम

काठमाडौं ।

नेपाल टेलिकमले कपर केबललाई अत्याधुनिक अप्टिकल फाइबर प्रविधिमार्फत प्रतिस्थापन गर्ने योजनालाई तीब्र बनाएको छ।

टेलिकमले आइतबार सूचना प्रकाशित गर्दै काठमाडौंका गोंगबु, चाबहिल र गौशला क्षेत्रमा असोज १ गतेदेखि कपर बेस्ड ल्याण्ड लाइन (पीएसटीएन) सेवा बन्द हुने जानकारी दिएको छ।

यी क्षेत्रमा कपर केबरबाट सेवा लिइरहेका ग्राहकलाई फाइबर टु दि होम (एफटीटीएस) प्रविधिमा प्रतिस्थापना हुन टेलिकमले आग्रह गरेको छ।

फाइबर प्रविधिका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले कपर छोड्न ग्राहकलाई प्रोत्साहित गरिरहेको नेपाल टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराई बताउँछन्।

‘दुई ओटै प्रविधिलाई एक साथ लग्न आर्थिक तथा प्राविधिकरुपमा कठिनाई हुन्छ। त्यसैले कपर बेस्ड प्रयोगकर्तालाई फाइबरमा रुपान्तरण गर्ने रणनीतिमा टेलिकम छ,’ भट्टराईले टेक्नोलोजीखबरसँग भने, ‘काठमाडौंका धेरै ग्राहकले फाइबर अपनाइसक्नु भएको छ र छुट भएका ग्राहकलाई समेट्न सूचना प्रकाशित गरिएको हो।’

फाइबरको नेटवर्क विस्तारसँगै कपर प्रयोगकर्ता घट्दो क्रममा छन्। आर्थिक वर्ष २०८१/८२ भित्रमा सबै कपर बेस्ड ग्राहकलाई फाइबरमा रुपान्तरण गर्ने योजना अनुरुप काम भइरहेको उनले बताए।

कपर केबलमार्फत ल्याण्डलाइन र इन्टरनेट सेवा प्रयोग गरिरहेका ग्राहकलाई टेलिकमले निःशुल्क फाइबर जडान गरिरहेको छ।

‘कपरमा आधारित प्रविधि पुरानो भइसकेको छ। कपरमा पानी पर्दा, हावाहुरी चल्दा, सिग्नल हराउने समस्या व्यापक आउने गरेको थियो। फाइबरमा त्यस प्रकारको समस्या एकदमै कम छ,’ उनले भने, ‘कपरमा लिमिटेड ब्याडविथ उपलब्ध छ भने फाइबरमा अनलिमिटेड जस्तै छ।’

फाइबर प्रविधिलाई प्रोत्साहन गर्दै कपर प्रविधिलाई क्रमिकरुपमा प्रतिस्थापन गर्दै टेलिकम अघि बढिरहेको उनले जानकारी दिए।

प्रकाशित: २४ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार