
काठमाडौं ।
ह्वावेलाई अमेरिकी सरकारले कालो सूचीमा राखेसँगै कम्पनीले स्मार्टफोन बजारमा आफूलाई पछाडि राख्दै आएको छ। केही समय अघि मात्रै बजार नेतृत्वको लागि दौडिरहेको कम्पनीले चीन भन्दा बाहिरका हरेक देशमा रहेका आफ्ना धेरैजसो प्रयोगकर्ताहरूलाई अन्य प्रतिस्पर्धीहरूका लागि गुमाएको थियो। अमेरिकाले लगाएको नाकाबन्दी यसको मुख्य कारण हो।
सन् २०१९ देखि चिनियाँ टेक जायन्ट ह्वावेलाई गुगल सर्भिसेससहित सबै अमेरिकी कम्पनीहरूसँग काम गर्न प्रतिबन्ध लगाइएको छ।
यद्यपि कम्पनीले अझै पनि मेट ६० जस्ता उत्कृष्ट फोनहरू उत्पादन गरेर प्रयोगकर्ताहरूको ध्यान आकर्षित गर्न सफल भएको छ।
यसैबीच, कम्पनीको सो अवस्थामा चाँडै नै परिवर्तन आउन सक्ने जनाइएको छ। हालसालै अमेरिकी सांसदले अमेरिकी वाणिज्य विभागलाई ह्वावे र चीनको शीर्ष सेमिकन्डक्टर फर्म एसएमआईसीलाई सबै प्रविधि निर्यात बन्द गर्न आह्वान गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
ह्वावे र एसएमआईसी यूएस टेकमा पहुँच गुमाउने जोखिममा
ह्वावे मेट ६० मा नयाँ चिप्स फेला परेसँगै अमेरिकी सांसदले अमेरिकी सरकारलाई ह्वावे र एसएमआईसीलाई प्रविधि निर्यात बन्द गर्न आह्वान गरेका छन्। साथै ह्वावे मेट ६० मा फेला पारिएको नयाँ चिप्ससले व्यापार प्रतिबन्धहरू उल्लङ्घन गर्नसक्ने उल्लेख छ।
चेयर अफ द हाउस अफ रिप्रिजेन्टेटिभ्स कमिटि अन चाइनाका प्रतिनिधि माइकल गालाघरले एक विज्ञप्तिमा नयाँ चिपहरू “संभवतः अमेरिकी प्रविधि बिना उत्पादन गर्न नसकिने” र एसएमआईसीले डिपार्टमेन्ट अफ कमर्सेस फरेन डाईरेक्ट प्रोडक्ट रुल (वाणिज्य विभागको विदेशी प्रत्यक्ष उत्पादन नियम) को उल्लङ्घन गरेको हुन सक्ने बताएका छन्। यो राष्ट्रिय सुरक्षाका लागि खतरा भएको उनको भनाइ रहेको छ।
गालाघरको प्रस्तावले अमेरिकी अर्थतन्त्रलाई नोक्सान पुर्याउने भन्दै केही व्यवसायीहरूले विरोध गर्नसक्ने सम्भावना रहेको जनाइएको छ। तर राष्ट्रिय सुरक्षाका लागि यो आवश्यक रहेको उनको तर्क छ।
सन् २०१९ देखि ह्वावे अमेरिकी प्रतिबन्धको अधीनमा रहेको र त्यतिखेर ट्रम्प प्रशासनले कम्पनीलाई राष्ट्रिय सुरक्षा चिन्ताको कारण व्यापार कालोसूचीमा राखेको थियो।
प्रतिबन्धहरूले ह्वावेलाई आफ्ना उत्पादनहरू बनाउन आवश्यक पर्ने कम्पोनेन्टहरू प्राप्त गर्न गाह्रो बनाएको छ। तर, गालाघरले यी प्रतिबन्धहरू पर्याप्त नहुने जिकिर गरेका छन्। उनी दुई कम्पनीलाई अमेरिकी प्रविधिबाट पूर्ण रूपमा हटाउन चाहन्छन्।
यद्यपी अमेरिकी सरकारले गालाघरको आव्हानलाई ध्यान दिनेछ कि छैन भनेर स्पष्टता नभएको उल्लेख छ। यसका साथै गालाघरको प्रस्तावले प्रविधिलाई लिएर अमेरिका र चीनबीच बढ्दो तनावलाई संकेत गरेको विश्लेषकहरुको भनाई छ।
प्रकाशित: २४ भाद्र २०८०, आईतवार