
काठमाडौं ।
कालीकोटको पचालझरना गाउँपालिका–९ ले टोलफ्रि नम्बर प्रयोगमा ल्याएको छ। वडा कार्यालयले नागरिकलाई सेवा लिन सहज होस् र कुनै सानो कामका लागि कार्यालयमै पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि टोलफ्रि नम्बर प्रयोगमा ल्याएको हो।
वडाका नागरिकलाई लक्षित गरी वडा कार्यालयले नागरिकलाई सेवा पनि होस् र फोन गर्दा सेवाग्राहीको रुपियाँ खर्च पनि नहोस् भनेर टोलफ्रि नम्बर प्रयोगमा ल्याएको जनाएको छ। वडा कार्यालयले १८१०५००००२५ को टोलफ्रि नम्बर प्रयोगमा ल्याएको छ।
गाउँपालिकाले गर्न नसकेको काम वडा कार्यालयले गरेपछि नागरिक पनि उत्साहित भएका छन्। भदौ २० गतेबाट टोलफ्रि नम्बर प्रयोगमा आएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। वडा ९ का वडा अध्यक्ष ललितजङ्ग शाहीले सेवाग्राहीका लागि निःशुल्क नम्बर प्रयोगमा ल्याएको बताए।
उनले यो सेवा बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन हुनेभएकाले फोन गरेर जानकारी लिन वडाका नागरिकलाई आग्रह गरे। वडा कार्यालयले टोलफ्रि नम्बर प्रयोगमा ल्याएपछि जिल्ला बाहिर हुनेहरूलाई सहज हुनेभएको छ। गोरखापत्रबाट
प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार