
काठमाडौं ।
नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (NPCI) को अन्तर्राष्ट्रिय शाखा ‘एन.आई.पी.एल’ (NPCI International Payments Limited), द्वारा नेपाल र भारत बीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ।
यो ऐतिहासिक साझेदारीको सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको बताईएको छ।
फोनपे, र एन.आई.पी.एलबीचको यस सहकार्यले, दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई, यी दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्युआर कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्ने दाबी गरिएको छ।
उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ। प्राविधिक एकीकरणको समाप्ति पश्चात यी दुई कम्पनीहरू, आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुनेछन्, जसको अनुरुप लाखौँ उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन्।
फोनपेका सभापति तथा एफ वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, “यो उल्लेखनीय प्रक्षेपण, दुबै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो।”
प्रकाशित: २१ भाद्र २०८०, बिहीबार