
काठमाडौं ।
पब्जी मोबाइलको विश्व कपको रुपमा रहेको पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) नेपाली टिम छनोट हुन असफल भएका छन्। पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप फल २०२३ को फाइनलमा उत्कृष्ट प्रदर्शन गर्नबाट चुक्दा नेपाली टिम पीएमजीसीका लागि छनोट हुन नसकेका हुन्।
पीएमपीएल साउथ एशिया च्याम्पियनशिपको फाइलनमा मंगोलियाका ६ तथा नेपाल र पाकिस्तानका ५/५ टिम सहभागी रहेका थिए। पीएमजीसीका लागि मंगोलियाका ३ र पाकिस्तानका एक टिम छनोट भएका थिए। यस अघि नै पीएमपीएल साउथ एशियाबाट स्टलवार्ट र पीएमपीएल पाकिस्तानबाट आई८ छनोट भइसकेका थिए। यी दुई टिम शीर्ष ४ स्थानमा रहेकाले उनीहरु भन्दा तल रहेका बाँकी दुई टिम पीएमजीसीका लागि छनोट भएका छन्।
यी दुई टिम बाहेक, फोरएमभी, एनबी इस्पोर्ट्स, आईएससी इस्पोर्ट्स र सेभेन ई पीएमजीसीका लागि छनोट भएका छन्।
नेपाली टिम रअ इस्पोर्ट्स सेभन ई भन्दा तीन अंकले पछि पर्दै पीएमजीसीका लागि छनोट हुनबाट बञ्चित भएको हो। सेभेन ईले १६१ अंक प्राप्त गर्दा रअले १५८ अंक ल्याउन सकेको थियो।
गत वर्षको पीएमजीसीमा नेपाली टिम डीआरएस गेमिङ दोस्रो भएको थियो। तर यो पटकको पीएमजीसीमा नेपालको तर्फबाट कुनै पनि टिमले प्रतिनिधित्व गर्ने छैनन्।
पीएमपीएल साउथ एशिया च्याम्पियनशिपको उपाधी स्टलवार्ट
पीएमपीएल साउथ एशिया च्याम्पियनशिपको उपाधी मंगोलियाको स्टलवार्ट इस्पोर्ट्सले जितेको छ। स्टलवार्टले २०८ अंक प्राप्त गर्दै उपाधी चुमेको हो। उपाधीसँग स्टलवार्टले २६ हजार अमेरिकी डलर पनि प्राप्त गरेको छ।
ऋर्को मंगोलियन टिम फोरएमभी दोस्रो भएको छ। १८२ अंक प्राप्त गरेको फोरएमभीले २० हजार अमेरिकी डलर जितेको छ।
पाकिस्तानी टिम आई८ इस्पोर्ट्स तेस्रो हुँदै १४ हजार अमेरिकी डलर जितेको छ।
नेपाली टिमहरु रअ, टी२के, स्काईलाइट गेमिङ र डीआरएस गेमिङ क्रमशः सातौ देखि १० औं भएका छन्। उनीहरुले क्रमशः ८ हजार, ६ हजार ५००, ६ हजार र ५ हजार ५०० अमेरिकी डलर प्राप्त गरेका छन्।
अर्को नेपाली टिम लियो इस्पोर्ट्स १२ औं हुँदै साढे ४ हजार अमेरिकी डलर प्राप्त गरेको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी स्टलवार्डका टप बन्न सफल भएका छन्। उनले एक हजार अमेरिकी डलर प्राप्त गरेका छन्।
प्रकाशित: १८ भाद्र २०८०, सोमबार