चन्द्रयान अभियानको सफलतापछि भारतले पठायो सूर्यको अध्ययन गर्न आदित्य एल-१ मिसन

Technology Khabar १६ भाद्र २०८०, शनिबार

काठमाडौं ।

भारतले अन्तरिक्ष विज्ञानको संसारमा अर्को फड्को मार्ने तयारी गरेको छ। भारतीय अन्तरिक्ष एजेन्सी इसरोको सौर्य मिसन आदित्य एल १ (Aditya L1) सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। मिसनले आन्ध्र प्रदेशको श्रीहरिकोटा स्पेसपोर्टबाट स्थानीय समयअनुसार बिहान ११.५० बजे उडान भरेको थियो।इसरोले प्रत्यक्ष प्रसारणको क्रममा मिसनको सफल प्रक्षेपण भएको पुष्टि गरेको छ।

आदित्य एल १ अन्तरिक्ष यान पीएसएलभी सी५७ (PSLV-C57) रकेट मार्फत उडेको छ, जुन १२० दिनको लामो यात्रा तय गर्नेछ।

करिब ४ महिनापछि यो पृथ्वीबाट १५ लाख किलोमिटर टाढा रहेको एल १ बिन्दु भनिने सूर्य-पृथ्वी लगरेन्ज बिन्दुमा पुग्नेछ। यो त्यो ठाउँ हुनेछ जहाँबाट भारतको पहिलो अन्तरिक्षमा आधारित सौर्य वेधशालाले हाम्रो सूर्यको निगरानी गर्नेछ र यसको हरेक गतिविधि बारेमा हामीलाई अवगत गर्नेछ।

विशेष कुरा के हो भने आदित्य एल-१ अन्तरिक्ष यानले १२० दिनमा जुन दूरी पार गर्नेछ, त्यो पृथ्वी र सूर्यबीचको दूरीको १ प्रतिशत मात्रै हो। तर एल १ बिन्दु एक ठाउँ हो जहाँबाट सूर्यलाई सधैं निगरानी गर्न सकिन्छ।

चन्द्रयान-३ मिशन पछि इसरोको सौर्य मिसन सुरु भएको थियो। मानिसहरु बिहानैदेखि मिसनको प्रक्षेपणको पर्खाइमा थिए । इसरोको युट्युब च्यानल सहित सबै प्लेटफर्महरूमा प्रत्यक्ष प्रसारण सुरु गरिएको थियो।

यो भारतको पहिलो सौर्य मिशन हो, जसको उद्देश्य सूर्यको कोरोना (सूर्यको सबैभन्दा बाहिरी तह) अवलोकन गर्नु हो। अन्तरिक्ष यानले ७ ओटा पेलोड बोकेको छ। सबै पेलोडहरूले फोटोस्फियर, क्रोमोस्फियर (सूर्यको देखिने सतहभन्दा माथि) र सूर्यको बाहिरी तह (कोरोना) विभिन्न तरंग ब्यान्डहरूमा अवलोकन गर्न मद्दत गर्नेछ।

आदित्य-एल १ मिसन पूर्णतया स्वदेशी हो। यसको तयारीमा धेरै राष्ट्रिय संस्थाहरू सहभागी भएका छन्। पीटीआई रिपोर्टका अनुसार यसको प्राथमिक उपकरण ‘भिजिबल एमिशन लाइन कोरोनाग्राफ’ (भीईएलसी) हो।

जब आदित्य वेधशाला सञ्चालनमा आउँछ, भीईएलसीले इसरोको ग्राउन्ड स्टेशनमा दैनिक १,४४० तस्बिरहरू पठाउनेछ। यी तस्बिरहरू जाँच गरेर वैज्ञानिकहरूले सूर्यमा कस्तो प्रकारको गतिबिधि भइरहेको छ भनेर थाहा पाउन सक्नेछन्।

प्रकाशित: १६ भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया