Technology Khabar १४ भाद्र २०८०, बिहीबार
काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप फल २०२३ को फाइनल आजदेखि सुरु हुने भएको छ। फाइनल ३१ अगष्टदेखि ३ सेप्टेम्बरसम्म खेलिनेछ।
डेढ लाख अमेरिकी डलरको कुल पुरस्कार राशीको प्रतियोगितामा ५ नेपाली टिमसहित १६ टिम प्रतिस्पर्धामा रहेका छन्।
नेपाल सहित फाइनलमा मंगोलियाको ६ र पाकिस्तानको ५ टिमबीच खेलिनेछ। गत २४ अगष्टदेखि २७ अगष्टसम्म खेलिएको लिग चरणमा शीर्ष १६ स्थानमा पर्दै यी टिमले फाइनलका लागि स्थान सुरक्षित गरेका हुन्। लिग चरणमा पाकिस्तानका ८ टिम, मंगोलियाका ६ टिम, नेपालका ५ टिम र बंगलादेशका एक टिमले प्रतिस्पर्धा गरेका थिए। फाइनल पुग्नबाट पाकिस्तानका ३ टिम र बंगलादेशका एक टिम बञ्चित भएका थिए।
लिग चरणमा नेपाली टिमहरुको प्रदर्शन उत्कृष्ट रहेको छ। लिगमा नेपाली टिम डीआरएस गेमिङ पहिलो र रअ इस्पोर्ट्स दोस्र भएका थिए। अब फाइलनमा यी दुई टिम सहित बाँकी ३ नेपाली टिमले पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
४ दिनसम्म चल्ने फाइलनमा प्रत्येक दिन ६ खेल खेलिनेछ। २४ खेलपछि अंक तालिकाको शीर्ष ४ स्थानमा आउने टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)का लागि छनोट हुनेछन्। पीएमजीसीका लागि पाकिस्तान पीएमपीएलबाट आई८ र साउथ एशिया पीएमपीएलबाट स्टलवार्ट इस्पोर्ट्स छनोट भइसकेका छन्। यदि यी दुई टिम शीर्ष ४ भित्रमा अटाएमा यी भन्दा तल रहने टिम पीएमजीसीका लागि छनोट हुनेछन्।
यस प्रतियोगिताको फाइनल जित्ने टिमले २६ हजार अमेरिकी डलर प्राप्त गर्नेछ। बाँकी सहभागि टिमले अंक तालिकाका आधारमा पुरस्कार राशी प्राप्त गर्नेछन्।
फाइलनमा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले १ हजार अमेरिकी डलर जित्ने छन्। लिग चरणमा नेपाली टिम रअका स्काई उत्कृष्ट खेलाडी बनेका थिए।
प्रकाशित: १४ भाद्र २०८०, बिहीबार