तार व्यवस्थापनमा जुटे स्थानीयबासी

Technology Khabar १२ भाद्र २०८०, मंगलवार

तार व्यवस्थापनमा जुटे स्थानीयबासी
सांकेतिक तस्विर

काठमाडौं ।

नवलपरासी जिल्लाको सडकमा जताततै तारैतार झुन्डिँदा यसले दुर्घटना बढ्न थालेपछि यसको व्यवस्थापनमा स्थानीय जुटेका छन्। मुख्य राजमार्गमा पर्ने सडकदेखि भित्री बाटोमा पर्ने ठाउँ ठाउँमा अहिले जताततै तारैतार झुन्डिएका छन्। यसले बजारलाई कुरूप बनाइदिएको छ। यसको तत्काल व्यवस्थापन गर्न स्थानीय जुटेको गैंडाकोटका रोमानभक्त अधिकारीले बताए।

स्थानीयले सेवाप्रदायक कम्पनीलाई तार व्यवस्थापनका लागि अनुरोध गर्दै नगरपालिकाले सूचना जारी गरेको छ। यही भदौ २१ गते गैंडाकोटदेखि विनयीत्रिवेणी गाउँपालिकासम्म छरिएर रहेका र बाटोमा पर्ने सबै अनावश्यक रूपमा रहेका तार काट्ने निर्णय नगरपालिकाले गरेको छ।

नगरको सौन्दर्य नै बिसने गरी तार छरपस्ट भएको र घर नजिकका पोलमा रहेका तारका कारण पटक पटक आगलागी हुनुका साथै लत्रिएका कारण जोखिम भएकाले व्यवस्थित गर्न लागिएको गैंडाकोटका नगर प्रमुख मदनभक्त अधिकारीले बताए। यसअधि सबै पालिकामा अव्यवस्थित तार काटिने १५ दिने सूचना जारी गरिसकिएको जनाउँदै उहाँले सेवाप्रदायक कम्पनीलाई व्यवस्थित गर्न आग्रह गरे।

नेपाल विद्युत् प्राधिकरण गैंडाकोटका शाखा प्रमुख सुजन रिजालले बिजुलीका तारभन्दा एक मिटर तलबाट अन्य तार राख्नुपर्ने प्राबधान भए पनि टेलिकम, केबुल र इन्टरनेट प्रदायक कम्पनीले सो नियम पालना नगरेको बताए। अधिकांश स्थानमा बिजुलीका पोलमा आगलागी हुने कारण भनेको बिजुलीको तार नभई इन्टरनेटका तार देखिएको उनको भनाइ थियो।

नेपाल टेलिकम राज्य प्रमुख अर्जुन लामिछानेले सस्ता तार पुनः प्रयोग पनि नहुने र नष्ट पनि नहुने भएकाले पहिले नै सचेत बन्नुपर्ने बताए।

सेवाप्रदायक कम्पनीका प्रतिनिधि इन्टरनेट सर्भिस प्रोभाइडर नेपाल आइस्पानमा आबद्ध सेवाप्रदायकले नियमसङ्गगत नै रहेको र अन्यले गर्दा दोष पाएको बताएका छन्। उनीहरूले यसमा संकेत चिन्ह राखिनु राम्रो हुने बताए। गोरखापत्रबाट

प्रकाशित: १२ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया