Technology Khabar १० भाद्र २०८०, आईतवार
काठमाडौं ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा नेपालमा करिब ३ अर्ब रुपैयाँको स्मार्टफोन भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनमा २ अर्ब ८६ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको एक लाख ७९ हजार ९९७ यूनिट स्मार्टफोन आयात भएको छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा स्मार्टफोनको आयात थोरैले बढेको देखिन्छ। गत आवको साउनमा २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको १ लाख ७६ हजार २४९ यूनिट स्मार्टफोन आयात भएको थियो।
गत आवको पहिलो महिनाको तुलनामा चालु आवमा स्मार्टफोनको आयात २९ करोड ४५ लाख २७ हजार रुपैयाँ अर्थात ११.४४ प्रतिशत बढेको छ।
गत आवको तुलनामा चालु आवमा स्मार्टफोनको आयात ३ हजार ७४८ यूनिटले बढेको छ।
चालु आवमा स्मार्टफोनको आयातबाट सरकारले ५३ करोड ४९ लाख ४६ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा २८ मुलुकबाट स्मार्टफोन भित्रिएको देखिन्छ।
नेपालमा भित्रिने स्मार्टफोन ९९ प्रतिशतभन्दा धेरै दुई छिमेकी मुलुक चीन र भारतबाट आउने गरेको छ। चीनबाट १ अर्ब ९० करोड ३६ लाख ३९ हजार रुपैयाँ बराबरको १ लाख २३ हजार ९५७ यूनिट स्मार्टफोन आयात भएको छ।
भारतबाट ९४ करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको ५५ हजार ६८४ युनिट स्मार्टफोन आयात भएको छ।
बाँकी २६ ओटा मुलुक २ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको ३५६ यूनिट स्मार्टफोन आयात भएको छ। ती २६ मुलुकबाट ०.७७९ प्रतिशत स्मार्टफोन आयात भएको छ।
प्रकाशित: १० भाद्र २०८०, आईतवार