Technology Khabar १० भाद्र २०८०, आईतवार
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले केहि दिनअघि लागू नहुने बताएको भन्दै त्यसको विरुद्ध र टेरामोस वा टेरामोक्स समेत भनिने सिस्टमको बारेमा लबिङ्ग गर्न नेपाल दूरसञ्चार प्राधिकरणले कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)लाई अगाडि सार्दै गरेको खुलासा भएको छ।
पछिल्लो समय चर्को विरोधमा परेको र शुरुवातदेखिनै विवादमा रहेको टेरामोसलाई जसरी पनि लागू गर्ने योजनामा प्राधिकरणका उच्च अधिकारीहरु रहेका छ्न्। जसले गर्दा उनीहरुले क्यान महासंघमार्फत प्रधानमन्त्रीको निर्णय विरुद्ध नै लबिङ्ग गराउन र मिडियाबाजी गराउने योजना गरिरहेको प्राप्त प्रमाणहरुले देखाएको छ।
कम्प्युटर व्यवसायीहरुको छाता संगठन क्यान महासंघको कार्यसमिति बैठकमार्फत नै निर्णय गराएर टेरामोसको बारेमा ‘विशेष’ पत्रकारहरुलाई मात्र बोलाएर पक्षमा समाचार लेखाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दिएको छ।
स्रोतकाअनुसार शुक्रबार बसेको कार्यसमिति बैठकमा सो विषयमा कुनै औपचारिक एजेन्डा नभएकोमा, दूरसञ्चार प्राधिकरणले टेरामोसको बारेमा पत्रकारहरुलाई जानकारी दिलाउन कार्यक्रम गराउन अनुरोध गरेको एजेन्डा प्रस्तुत गरिएको थियो।
टेरामोस विवादमा परेपछि र प्राधिकरणका उच्च अधिकारीहरुले मिडियाबाजी गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारी अधिकारीहरु रुष्ट भएपछि नयाँ किसिमबाट टेरामोसको बारेमा मिडिया लबिङ्ग गराउने योजना बनेको स्रोतको दाबी छ।
शुक्रबारको बैठकमा क्यान महासंघका महासचिव चिरन्जीवी अधिकारीले विविधअन्तरगत सो एजेन्डा रहेको भन्दै त्यसमा छलफल गर्न सदस्यहरुबीच प्रस्ताव गरेका थिए।
टेक्नोलोजीखबरलाई प्राप्त क्यान महासंघको सो बैठकको बारेमा प्राप्त एक भिडियो क्लिपमा महासचिव अधिकारीले ‘प्रधानमन्त्री कार्यालयले रोक्नु भनेको तर यसमा प्राधिकरणले प्रविधिको बारेमा व्याख्या गर्नेगरी कार्यक्रम गर्न भनिएको’ बताएको सुनिन्छ।
“…टेरामोक्स सम्बन्धि कार्यक्रम आयोजना गर्ने भनेर दूरसञ्चार प्राधिकरणबाट रिक्वेस्ट भएको थियो।… टेरामोक्स सम्बन्धि जुन चैं एनटीएले लागू गर्न खोजिएको थियो। त्यो चैं प्रधानमन्त्री कार्यालयले यसलाई रोक्नु भन्ने कुराहरु आएको छ। यो विषयमा टेक्नोलोजी प्रस्पेक्टिभबाट क्यान महासंघले अर्गनाइज गरिदियोस् भन्ने उहाँहरुको चाहना थियो।….,” उनले भनेका छन्।
जसमा उनले १० जना क्यान महासंघबाट १० जना प्राधिकरणबाट र १० जना ‘स्पेशल पत्रकार’हरु सहभागी गराउने योजना रहेको बताएको भिडियोमा देखिन्छ।
यसमा उनले भेन्यू अर्थात कार्यक्रम गर्ने स्थान र त्यसको लागत प्राधिकरणले कसरी बेहोर्छ भन्ने बारेमा अझै निश्चित भएको बताएका छन्।
प्राप्त भिडियोअनुसार यस बारेमा प्राधिकरणले नै उक्त कार्यक्रम आयोजना गराउन अनुरोध गरेको उल्लेख छ। जसमा यहि सोमबार बेलुका कार्यक्रम गर्ने र त्यसमा प्राधिकरणका अधिकारीहरुले टेरामोसको बारेमा ब्याख्या गर्ने तयारी रहेको छ।
बैठकमा कार्यक्रमको लागत कति हुने र कस्ले बेहोर्ने भन्ने बारेमा क्यानका सदस्यहरुबीच विवाद भएको देखिन्छ। त्यसमा लागत र भेन्यू पछि फाइनल गर्ने तयारी गरिएको सुनिन्छ।
हेर्नुस् भिडियो क्लिप-
यसैबीच क्यान महासंघको उक्त भिडियो क्लिप सञ्चार मन्त्रीको सचिवालयसहित प्रधानमन्त्री सचिवालयमा समेत पुगेको बताईएको छ।
यसले सरकारी अनुदान र बजेटमा कार्यक्रमहरु आयोजना गर्दै आएको क्यान महासंघ र सरकारी निकायहरुबीच तनाबको अवस्था सिर्जना हुने देखिएको स्रोतको भनाई छ।
“प्रधानमन्त्रीले नै लागू नगर्ने भन्नुभएको र सञ्चार मन्त्रीले समेत रोक्न भन्नुभएको छ। सो निर्णयको विरुद्धमा गएर विवादित टेरामोसको बारेमा दूरसञ्चार प्राधिकरणको बजेटमा क्यान महासंघले कार्यक्रम आयोजना गर्नु उपयुक्त होईन्,” स्रोतले भन्यो।
“यसले प्राधिकरण नेतृत्व भेन्डरहरुको चंगुलमा फसेको आशंका भएको छ। प्रधानमन्त्री ज्यू र मन्त्री ज्यूले यस विषयलाई गंभिर र संवेदनशिल मान्नुभएको छ। यसमा समीक्षा हुनेछ,” सञ्चार मन्त्रालय नजिक स्रोतले दाबी गरेको छ।
यस्तै क्यान महासंघलाई पनि सरकारको निर्णय विरुद्ध कार्यक्रम गर्ने तयारीले आगामी दिनमा सरकारसँग सहकार्य गर्न अझ कठिन हुने बताईएको छ।
उता क्यान महासंघका महासचिव अधिकारीले भने त्यस्तो निर्णय नै नभएको जानकारी दिए। “त्यस बारेमा कुनै निर्णय भएको छैन्। भएपछि तपाईँलाई जानकारी हुने नै छ,” उनले भने।
प्रकाशित: १० भाद्र २०८०, आईतवार