
काठमाडौं ।
दरबार हाइस्कूलअन्तर्गत भानु मा.वि.मा शुक्रबारदेखि रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ कक्षा सुरु भएका छन्। कक्षाका लागि बितेका हप्ताहरुमा अभिमुखीकरण गराइएको थियो। कक्षामा विद्यार्थीहरुको गहिरो चाख देखिन्थ्यो। उनीहरु विषयवस्तुप्रति उत्साहित थिए । शिक्षकहरुसँग अन्तरक्रियात्मक हुनुले यसलाई स्पष्ट्याइरहेको थियो।
यी कक्षाहरु महानगरपालिकाको बुक फ्रि फ्राइडेअन्तर्गत सञ्चालन भएका महानगरले जनाएको छ।
सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाकाअनुसार, कोडिङ् सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ् सिकाइएको थियो। यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको थियो।
विद्यार्थीहरुको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो। यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरुबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ। विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरु पनि चलिरहेका छन्।
महानगरपालिकाका १४ ओटा विद्यालयमा कोडिङ् क्लव गठन भइसकेका छन्। उनीहरुको काम विश्वका १६० भन्दा धेरै देशमा क्लव सञ्जालमा जोडिन्छ। रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) र कोडिङ् कक्षाहरुले विद्यार्थीहरुमा समस्या समाधान गर्ने प्राविधिक क्षमता विकास हुनेछ । यस्ता कक्षाबाट विद्यार्थीहरुमा तार्किक क्षमता बढ्नेछ। चुनौती समाधानका लागि समूहगत कामको सिकाइ विकास हुने बताईएको छ।
डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न, विद्यार्थी र शिक्षकलाई नविनतम प्राविधिक उपकरणसँग अभ्यस्त बनाउन महानगरले डिजिटल एण्ड वियोण्डसँगको सहकार्यमा प्रविधि विस्तार गरिरहेको जनाएको छ।
यस कार्यक्रमका लक्षित विद्यार्थी कक्षा ९ सम्मका विद्यार्थी हुन्। क्लवका विद्यार्थीहरुले विद्यालयको आफ्नै वेभसाइट निर्माण गर्न सक्नेछन्।
प्रकाशित: ९ भाद्र २०८०, शनिबार