सडक हिलाम्ये भएपछि चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरेमै रोकियो

  • Technology Khabar | ८ भाद्र २०८०, शुक्रबार
सडक हिलाम्ये भएपछि चीनबाट आयातित विद्युतीय सवारीसाधन टिमुरेमै रोकियो
विद्युतिय सवारीसाधन रसुवागढीनाकाको टिमुरे र घट्टेखोलामा। फाइल तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस

काठमाडौं ।

रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन्। टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन्।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स्याफ्रु–रसुवागढी सडक खण्डमा अत्यधिक हिलो भएका कारण गत वर्ष र चालु आवको साउन महिनामा आयात गरिएका चार सयभन्दा बढी नयाँ कार, जीप, भ्यान टिमुरेमै रोकिएका छन्। यसबाट रु. एक अर्बभन्दा बढी भन्सार शुल्क असुल गर्न बाँकी रहेको उनले बताए।

सडकको नाजुक अवस्थाका कारण रसुवागढी क्षेत्रमा अहिले एमबी, बिवाइडी, किङलङ र नेटा कम्पनीले आयात गरेका सवारीसाधन रोकिएका जनाइएको छ। सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायमा अनुरोध भइरहेको भन्सार कार्यालयले जनाएको छ।

मालवस्तु आयात–निर्यात गर्ने प्रमुख नाकाको सडकमार्ग संरक्षणमा सडक विभाग गम्भीर हुनुपर्नेमा स्थानीय बासिन्दाले समेत माग राखेका छन् ।

सडक विभागले हिलो फ्याँक्न सक्ने एउटा ठूलो उपकरण र बलौटे माटो बोक्ने टिपरसमेत राख्नुपर्ने स्थानीयको माग छ।

यस्तै चालु आर्थिक वर्षको साउनमा आयातित चिनियाँ माल सामग्रीबाट रु. एक अर्ब तीन करोड ९६ लाख ३७ हजार ९१ भन्सार शुल्कवापतको राजस्व सङ्कलन भएको छ।

प्रकाशित: ८ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार