Technology Khabar ७ भाद्र २०८०, बिहीबार
काठमाडौं ।
उत्तर कोरियाले जासुसी भू–उपग्रहलाइ बिहीबार अन्तरिक्षको कक्षमा स्थापित गर्ने आफ्नो दोस्रो प्रयास पनि असफल भएको जनाएको छ। पहिलो जासुसी भू–उपग्रह प्रक्षेपणको केही समयपछि समुद्रमा खसेको तीन महिनापछि उत्तर कोरियाले यो दोस्रो प्रक्षेपण गरेको हो।
उत्तर कोरियाली नेता किम जोङ उनले आकाशमा सैन्य पहुँच विकासलाई उच्च प्राथमिकता दिएका छन भने आणविक शक्ति सम्पन्न आफ्नो देशले यो अमेरिकी सेनाको बढ्दो क्षेत्रीय गतिविधिको लागि आवश्यक सन्तुलन भएको दाबी गरेका छन्।
‘नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेसन (नाडा)’ ले बिहीबार ‘टोही स्याटेलाइट मालिगयोङ–१’ को दोस्रो प्रक्षेपण गरेको कोरियाली केन्द्रीयसमाचार संस्था (केसीएनए)ले जनाएको छ।
तेस्रो चरणको उडानका क्रममा इमर्जेन्सी ब्लास्टिङ सिस्टममा आएको त्रुटिका कारण प्रक्षेपण असफल भएको नाडाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ। “यो समस्या ठूलो विषय होइन र अक्टोबरमा अर्को प्रक्षेपणको प्रयास गर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
किमले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गर्दै सामरिक आणविक हतियारलगायत हतियार उत्पादन बढाउन आह्वान गरेका छन्। सफलतापूर्वक एक जासूस उपग्रह अन्तरिक्षको कक्षमा राख्नु उत्तर कोरियाको लागि सैन्य सूचना सङ्कलनका लागि एउटा महत्वपूर्ण उपलब्धि हुनेछ।
दक्षिण कोरियाली सेनाले स्थानीय समयअनुसार बुधबार बिहान ३ः५० बजे उक्त अन्तरिक्ष रकेट प्रक्षेपण भएको थाहा पाएको र यो ‘एलो सी’ माथि उडेको बताएको छ। भग्नावशेषको खोजी र पुनःप्राप्ति अभियान सुरु गरिएको जनाइएको छ।
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले बिहीबारको प्रक्षेपण र उत्तर कोरियाले गत मे महिनामा गरेको प्रयासको निन्दा गर्दै प्योङयाङले ‘आफ्ना जनतालाई भोकमरी र मृत्युको मुखमा पुर्याइरहेको आर्थिक अवस्थाका लागि तल्लो अधिकारीहरूलाई दोष दिँदै लापरबाहीपूर्ण उक्साहटमा दुर्लभ स्रोतसाधनको दुरुपयोग गरिरहेको’ बताएको छ।
उत्तर कोरियाले जापानको तटरक्षक बललाई अगस्ट २४ देखि ३१ को बीचमा भू–उपग्रह प्रक्षेपण गरिने जानकारी दिएको थियो, जसका कारण टोकियोले जहाजहरू र पीएसी–३ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली परिचालन गर्न निर्देशन गरेको थियो। जापान सरकारले सुरुमा यो प्रक्षेपणलाई ‘अत्यन्त समस्याग्रस्त’ भनेको थियो र दक्षिणी ओकिनावा क्षेत्रका बासिन्दाहरूलाई यसबाट सुरक्षित रहन संक्षिप्त चेतावनी जारी गरेको थियो।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले भन्नुभयो, “यस्तो व्यवहार संयुक्त राष्ट्रसङ्घको प्रस्ताव विपरीत छ र हामीले पहिलेदेखि नै कडा विरोध गरिरहेका छौं ।”
उत्तर कोरियालाई क्षेप्यास्त्र र अन्तरिक्ष रकेट दुवैका लागि प्रयोग गरिने ब्यालेस्टिक प्रविधिको परीक्षण गर्न संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रस्तावअनुसार प्रतिबन्ध लगाइएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रिएन वाट्सनले भने, “यो प्रक्षेपणले यस क्षेत्र र बाहिरको सुरक्षा स्थितिलाई अस्थिर पार्ने खतरा छ।”
वासिङ्टन र सियोलले सोमबारदेखि संयुक्त सैन्य अभ्यास सुरु गरेको केही समयपछि यो प्रक्षेपण भएको हो। रासस
प्रकाशित: ७ भाद्र २०८०, बिहीबार