सामाजिक सञ्जाललाई नियमन गर्ने कानुन तयार गर्दै सञ्चार मन्त्रालय

  • Technology Khabar | ७ भाद्र २०८०, बिहीबार
सामाजिक सञ्जाललाई नियमन गर्ने कानुन तयार गर्दै सञ्चार मन्त्रालय

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समाजिक सञ्जाललाई नियमन गर्न नयाँ कानून बनाउने भएको छ।

सामाजिक सञ्जाललाई नियमन गर्नका लागि भनेर मन्त्रालयले निर्देशिका निर्माण गर्ने तयारी सुरु गरिएको सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

“सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने समय भइसकेको छ,” उनले टेक्नोलोजीखबरसँग भने, “नियमनको अभावमा समाजिक सञ्जालमा उछ्रङ्खल गतिविधि बढ्दो क्रममा देखिएको छ।”

यस्ता गतिविधिहरुलाई नियमन र नियन्त्रण गर्ने प्रयासको थालनी स्वरुप निर्देशिका ल्याउन खोजिएको उनको भनाइ छ।

निर्देशिका तयार गर्न मन्त्रालयले सरोकारवाला निकायसँग छलफल अघि बढाइरहेको छ।

यसका लागि मन्त्रालयले भोली सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रका प्रतिनिधिहरुलाई सुझाबका लागि छलफलमा बोलाएको छ। उक्त छलफलमा बुँदागत सुझाब दिन भनिएको जानकारले बताएका छन्।

हामीलाई अनिवार्य उपस्थित हुन भनिएको छ। पत्रमा बुँदागत छलफल भनेपनि के बुँदाहरु छन भन्ने जानकारी दिईएको छैन्।

तर निर्देशिकाले मात्र सामाजिक सञ्जाललाई पूर्णरुपमा नियमन गर्न नसक्ने मन्त्रालयको ठम्याई छ। र यसका लागि दीर्घकालीन समाधानको रुपमा कानुन (ऐन) ल्याउनु पर्ने उनको भनाइ छ। छलफलमा ऐनको विषय पनि उठेको उनले बताए।

सामाजिक सञ्जालको नियमनको कतिपय विषय निर्देशिकाले बोल्नसक्ने भएकाले हाल निर्देशिकाबाट सुरुवात गर्न खोजिएको उनको दाबी छ।

निर्देशिकामा प्लेटफर्म सञ्चालक र आम प्रयोगकर्ताको जिम्मेवारी र दायित्वलगायतका विषयहरु समावेश गरिनेछ। साथै सामाजिक सञ्जाल प्रयोगकर्ता सहज हुनुपर्ने विषय, शिक्षा, सचेतना लगायका विषयमा निर्देशिका केन्द्रित हुने उनको भनाइ छ।

समाजिक सञ्जालमा लेखेकै भरमा कारबाही गर्ने अधिकार निर्देशिकामा नहुने। तर पनि यसका लागि सम्बन्धि निकायलाई पत्रमार्फत कारबाही वा नियमन गर्न निर्देशन दिन सक्ने कानुनी आधार तयार हुने उनको विश्वास छ।

प्रकाशित: ७ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • ७ भाद्र २०८०, बिहीबार