
काठमाडौं ।
सर्लाहीमा राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरिएको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट पहिलो चरणमा २८ हजार राष्ट्रिय परिचय पत्र छपाई भई आएको र ती परिचय पत्र सोमबारबाट वितरण गर्न सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले लालबन्दी नगरपालिका–६, निवासी शङ्कर श्रेष्ठलाई राष्ट्रिय परिचय पत्र कार्ड हस्तान्तरण गरी जिल्लामा यसको वितरण कार्य शुभारम्भ गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय मलङ्गवामै पुगेर बायोमेट्रिक दर्ता गराएका २८ हजार जनाको राष्ट्रिय परिचय पत्र प्राप्त भएको कार्यालयले जनाएको छ । नेपाल पत्रकार महासङ्घ सर्लाहीका पूर्व अध्यक्ष समेत रहेको पहिलो सेवाग्राही श्रेष्ठले लामो प्रतिक्षापछि राष्ट्रिय परिचय पत्र पाउँदा खुसी व्यक्त गरे।
श्रेष्ठपछि दोस्रो सेवाग्राहीका रुपमा पुग्नुभएका ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवनगरका सुनिल कुमार साह तेलीले २०७७ साल पुस २ गते विवरण दर्ता गरेकोमा सोमबार बल्ल राष्ट्रिय परिचय पत्र प्राप्त गरेको बताए। साहले ढिलो गरी भएपनि पहिलो चरणमै राष्ट्रिय परिचय पत्र प्राप्त गर्दा खुसी व्यक्त गरे।
जिल्ला प्रशासन कार्यालयले परिचय पत्र छापिएर आएपछि आ–आफ्नो मोवाइलमा म्यासेज आउने भएकाले म्यासेज प्राप्त भएका सेवाग्राहीलाई कार्यालयमा आएर परिचय पत्र बुझ्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले केही समयअघि जिल्लाको २० ओटै पालिकाका वडा कार्यालय तथा विद्यालय लगायतका स्थानमा टोली खटाएर तीन लाख १९ हजार २७२ जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण लिने काम गरेको थियो।
टोली खटिएर विवरण सङ्कलन गरेकाहरुको भने परिचय पत्र छापिएर आउनै बाँकी छ। जिल्लामा राष्ट्रिय परिचय पत्र लागि जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवन तथा बरहथवाबाट नियमित विवरण लिने काम भइरहेको छ । गोरखापत्रबाट
प्रकाशित: ५ भाद्र २०८०, मंगलवार