चार वर्षे बीआइटीको प्रवेश परीक्षा तथा नयाँ भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

  • Technology Khabar | ४ भाद्र २०८०, सोमबार
चार वर्षे बीआइटीको प्रवेश परीक्षा तथा नयाँ भर्ना खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ।

ब्याचलर्स इन इन्फरमेसन टेक्नाेलाेजी (बीआइटी) को २०८० प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धित कार्यक्रम प्रकाशित भएको छ। विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीआइटीको प्रवेश परीक्षा तथा नयाँ भर्ना सम्बन्धि जानकारी प्रकाशित गरेको हो।

सूचना अनुसार, त्रिभूवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसहरुमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडीङ सिस्टमअनुसार पठन पाठन हुने विज्ञान तर्फ चार वर्षे बीआइटी (Bachelors in Information Technology (BIT) का लागि प्रवेश परीक्षा तथा नयाँ भर्नाका लागि इच्छुक विद्यार्थीले आवेदन दिन सक्नेछन्।

आवेदन दिन चाहने विद्यार्थीले विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्रवेश परीक्षा सम्बन्धी वेबसाइट https://iost.tu.edu.np मार्फत आवेदन दिन सकिने उल्लेख छ। उक्त वेबपेज भदौ ६ गते बिहान १० बजेदेखि खुला गरिने बताइएको छ।

आवेदक स्वयमले भदौ ६ गतेदेखि असोज ५ गतेसम्ममा आवेदन फारम बुझाइसक्नु पर्ने बताइएको छ। प्रवेश परीक्षा शुल्क एक हजार ७५० रुपैयाँ तोकिएको छ।

ताेकिएकाे समयमा आवेदन नदिएका विद्यार्थीले असोज ६ गतेदेखि असोज ९ गतेसम्ममा दोब्बर दस्तुरका साथ आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। प्रवेश परीक्षा हुने मिति, समय र केन्द्र पछि प्रकाशन गरिने जानकारी दिइएको छ।

प्रकाशित: ४ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...