काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को लागि ११ अर्ब ५३ करोड ६७ लाख रुपैयाँको प्रस्तावित बजेट तयार पारेको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले चालु आर्थिक वर्षका लागि ग्रामिण दूरसञ्चार विकास कोष तर्फ ८ अर्ब ५ करोड रुपैयाँको बजेटका लागि बिनियोजन गर्ने तयारी गरेको छ भने प्राधिकरणको कोषबाट बाँकी रकम बेहोर्ने भएको छ।
प्राधिकरणले आफ्नै कोषबाट खर्च गर्नेगरी चालु आवमा ३ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ छुट्याएको छ।
प्राधिकरणले यस आर्थिक वर्षमा १३ओटा मुख्य विषयहरुमा वर्गिकरण गर्दै बजेट व्यवस्थापन गर्ने योजना लिएको छ। जसमा नयाँ नीति नियम बनाउने, देशभर आधारभूत दूरसञ्चार सेवा पुर्याउने, दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउने, उपकरणहरुको गुणस्तर निर्धारण गर्ने, फ्रिक्वेन्सी व्यवस्थापन गर्ने, नयाँ प्रविधिहरुको बारेमा अध्ययन/अनुसन्धान गर्ने/गराउने, उपभोक्ता हकहित बारे कार्य गर्ने लगायतका विषयहरु समेटिएका छन्।
चालु आवको प्रस्तावित बजेटले नेपालको दूरसञ्चार सेवाको बिस्तार हुने र सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
प्राधिकरणले बोर्डबाट पारित गरेको सो प्रस्तावित बजेट हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आईपुगेको मन्त्रालय स्रोतले गत साता टेक्नोलोजीखबरलाई जानकारी दिएको थियो।
मन्त्रालयले आवश्यक योजनाहरु थपघट गरेर उक्त योजनाहरुमा सुझाबसहित स्वीकृत गरेपछि मात्र प्राधिकरणले पूर्ण बजेट तयार पार्नेछ।
मन्त्रालयले प्राधिकरणको बजेटमा आफ्नो तर्फबाट केहि थप कार्यक्रमहरु राख्ने तयारी गरेको स्रोतले उल्लेख गरेको छ।
“हाल बजेट अध्ययनकै क्रममा छ र केहि कार्यक्रमहरु थप हुन सक्नेछ,” मन्त्रालय स्रोतले भन्यो।
प्रकाशित: ४ भाद्र २०८०, सोमबार