एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली सुरु

  • Technology Khabar | ४ भाद्र २०८०, सोमबार

काठमाडौं ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आफ्नो मातहतका कार्यालयबाट एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (आइएलएमआइएस) सुरु गरेको छ। विभागले गएको शुक्रबारदेखि ‘पाइलट’ का रूपमा उक्त प्रणाली सुरु गरेको हो।

विभागका महानिर्देशक केशवप्रसाद विमलीले विभागबाट हुने सबै गतिविधि तीन महिना ‘पाइलट’ का रूपमा सञ्चालनमा ल्याइने जानकारी दिए। उनले भने, “विभागका सबै गतिविधि तीन महिनासम्म ‘पाइलट’ का रूपमा सञ्चालन गर्छौं, यो सफल हुनेबित्तिकै पूर्णरूपमा अनलाइनमै जान्छौँ।”

विभागकाअनुसार एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (आइएलएमआइएस) सञ्चालनमा आइसकेको छ। यो सफ्टवेयर परीक्षणमै भएकाले अहिले पूर्ण रूपमा कार्यान्वयनमा जाँदा समस्या आउन सक्ने भएकाले तीन महिना परीक्षण अवधि तोकिएको विभागका महानिर्देशक विमलीले जानकारी दिए।

विभागले उक्त सफ्टवेयर भदौ १ देखि परीक्षणकारूपमा कार्यान्वयनमा ल्याएको छ। यो प्रणाली सञ्चालनमा आएसँगै गैरनेपाली नागरिकले श्रम स्वीकृति तथा इजाजत अनलाइनबाटै लिन सक्नेछन्।

साथै ट्रेड युनियन दर्ता/नवीकरण, श्रमिक आपूर्तिकर्ताको दर्ता/नवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेस, प्रतिष्ठान दर्तालगायत विभागबाट भइरहेका कामसमेत अब अनलाइनबाट गर्न सकिने भएको छ।

विभागकाअनुसार सेवाग्राहीले ‘आइएलएमआइएस डट डिओएलओएस डट जिओभी डट एनपी’ मा गएर आवेदन दिन सक्ने भएका छन्।

यस्तै विभागले भाइबर र ट्विटरमार्फत सिधा सम्पर्क गरेर उजुरी टिपाउन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। विभागले यस्ता उजुरीको अवस्थाअनुसार तुरुन्तै कानुनबमोजिम सम्बन्धित रोजगारदाता प्रतिष्ठानको कारबाही प्रक्रियामा जाने तयारी गरेको जनाएको छ।

विभागका निर्देशक मणिनाथ गोपले नियुक्तिपत्रबिना काम गर्न समस्या थुप्रै भए पनि कतिपयले आउनको झन्झटले गर्दा उजुरी नदिने गरेकाले सहज बनाउन हटलाइन सेवाको सुरु गरिएको जानकारी दिए।

उनकाअनुसार नियुक्तिपत्रबाहेक उद्योग प्रतिष्ठानमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएमा, तोकेको पारिश्रमिक दिन ढिलासुस्ती गरेमा, बालश्रम लगाएको पाइएमा पनि तुरुन्त उजुरी गर्न सकिने छ। भाइबर र ट्विटरमार्फत आएका उजुरीको तुरुन्तै श्रम ऐन २०७५ र नियमावली २०७६ अनुसार कारबाही प्रक्रियामा लैजाने निर्देशक गोपले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: ४ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया