
काठमाडौं ।
एप्पलले हालै चीनमा आफ्नो स्थापनाको ३० वर्ष पूरा गरेको छ। एप्पलका वर्तमान सीईओ टिम कुकले वेइबोमा सन्देश पोस्ट गर्दै एप्पलको ३०औँ वार्षिकोत्सव मनाएको उल्लेख गरेको छ।
सो पोष्टमा कुकले आफ्ना सबै सहकर्मी, ग्राहकहरू र चीनका साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरेका छन। साथै पोष्ट भित्र एउटा लिङ्क पनि रहेको र त्यस लिङ्कले चीनको आधिकारिक एप्पल वेबसाइटमा लैजाने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
एप्पलले चिनियाँ बजारमा प्रोडक्टस् र सर्भिसेस् (उत्पादन र सेवाहरू) उपलब्ध गराएको ३० वर्ष मनाउँदै गर्दा शैक्षिक र सामाजिक कार्यक्रमहरू मार्फत स्थानीय समुदायलाई योगदान पुर्याएको सन्देशको सुरुवातमा उल्लेख छ। टिम कुकले आफ्ना नयाँ आविष्कारहरू साझा गरेर ग्राहकहरूलाई सेवा दिन पाउँदा गर्व महसुस भएको बताएका छन्।
कम्पनीले चिनियाँ ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन र उनीहरूलाई एकअर्कासँग जोडिन मद्दत गर्न यसलाई जारी राख्ने जानकारी दिएको उल्लेख छ।
कुकले चीनमा कम्पनीको व्यवसायसँग सम्बन्धित केही तथ्याङ्क पनि सेयर गरेका छन्। एप्पलले डेभलपर्सका लागि अवसरहरू विस्तार गरेको र आईओएस एप इकोनोमीमार्फत चीनमा लाखौं रोजगारी सिर्जना गरेको दाबी गरिएको छ।
सन् २०१९ देखि सन् २०२२ सम्ममा चीनको एप स्टोरमा एपहरूको संख्या दोब्बर भएको र साना विकासकर्ताहरूले सन् २०२० देखि सन् २०२२ सम्म ५९ प्रतिशत बढी पैसा कमाएको उल्लेख गरिएको छ। साथै, सन् २०२२ मा, नयाँ एप स्टोर सिर्जनाकर्ताहरूको लगभग २३ प्रतिशत चीनबाट हुने अपेक्षा गरिएको छ।
यसैगरी, काउन्टरपोइन्ट रिसर्चका अनुसार एप्पलले सन् २०२३ को पहिलो त्रैमासिकमा चिनियाँ बजारमा २० प्रतिशत बजार हिस्सा सुरक्षित गरेको छ।
प्रकाशित: ४ भाद्र २०८०, सोमबार