
काठमाडौं ।
नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ता बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० असारको मासिक भुक्तानी प्रणाली सूचक अनुसार नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ता २ करोड १३ लाख ६३ हजार ९८९ जना छन्।
गत वर्ष २०७९ को असारमा मोबाइल बैंकिङका प्रयोगकर्ता १ करोड ८३ लाख ७ हजार २५५ थिए। एक वर्षको अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता ३० लाख ५६ हजार ७४६ अर्थात १६.६६ प्रतिशतले बढेको छ।
मोबाइल बैंकिङका प्रयोगकर्ता बढेसँगै कारोबार संख्या र भुक्तानी रकम पनि बढेको छ।
२०७९ असारमा २ करोड ५ लाख ६४ हजार ३०४ पटक मोबाइल बैंकिङबाट कारोबार भएकोमा २०८० असारमा २ करोड ८९ लाख ३ हजार ८७२ पटक कारोबार भएको छ।
यस्तै २०७९ असारमा मोबाइल बैंकिङबाट १ खर्ब ६३ अर्ब २५ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएकोमा २०८० असारमा २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ।
मोबाइल बैंकिङबाट वालेटमा टपअप गर्न सकिनुका साथै क्यूआर मार्फत भुक्तानी गर्न सकिने भएकाले पनि यसको प्रयोग बढ्दो छ। साथै बैंकहरु पनि खाता खोल्न आउने ग्राहकहरुका लागि मोबाइल बैंकिङ प्रयोग गर्न प्रोत्साहन गर्दा पनि यसको प्रभावकारिता बढ्दो क्रममा देखिएको हो।
प्रकाशित: ४ भाद्र २०८०, सोमबार