
काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ पार्टीले टिकटकमा देखाउनका लागि काम गरेको भन्दै कांग्रेस कार्यकर्ताले त्योभन्दा बढी यो समाजमा सहयोग गरिरहेको दाबी गरेका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा महतले सूचना प्रविधिको पनि उपयोग गर्नुपर्ने र गरेको काम अब कांग्रेसले पनि देखाउनुपर्ने बताए।
“सामाजिक सञ्जालको अवसर र चुनौतिको बीचमा जनतामाझ सही कुरा सुसूचित गर्ने अधिकार र त्यसका आधारमा दृष्टिकोण बनाउने अधिकारलाई कसरी सुनिश्चित गर्ने चुनौतिका बीचमा हामी छौं । नयाँ पार्टीले आधा मिनेटको टिकटकमा समाजसेवा गर्छन्, अस्पतालमा पुर्याउँछन्’ उनले भने, ‘कार्यालयमा काहिँ सहयोग गरेको देखाउँछन्। यो दृश्य पटक पटक देखिन्छ। खोल्यो कि त्यही देखिन्छ। गज्जब गरेछन् भनेर हाम्रो ब्रेन वास हुन थाल्छ।”
उनले कांग्रेस कार्यकर्ताले त्यो भन्दा धेरै कार्य गरेको भएपनि बाहिर नदेखिएको गुनासो गरे।
यथार्थमा कांग्रेस कार्यकर्ताले त्योभन्दा बढी यो समाजमा सहयोग गरिरहेका बताउँदै डा महतले भने, “यी कुरा भिडियो खिचेर देखाउनुपर्छ भनेर हामीले सोचेनौं । यस्ता काम हामी सधैं गरिरहेका हुन्छौं, देशैभरि हाम्रा साथीहरुले गरिरहेका हुन्छन्, तर कांग्रेसले देखाउनका लागि गरेका छैनन्। देखाउने हाम्रो लक्ष्य होइन, हाम्रो लक्ष्य काम गर्ने हो।”
कांग्रेस र अन्य दलको फरक देखाउँदै प्रवक्ता डा. महतले यो फरक जनतालाई बुझाउनुपर्ने बताए।
“अब हामीले सूचना प्रविधिको पनि उपयोग गर्नुपर्छ । गरेको काम अब कांग्रेसले पनि देखाउनुपर्छ। यदि यो काम गरेनौं भने बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइ पुष्टि हुन्छ,” उनले भने।
म चाहिँ ठूलो, राम्रो र योग्य, म भए पार्टीको कायापलटै गर्दिन्थे, अरु भएर बिग्रेको हो भनेर हामी सामाजिक सञ्जालमा बढी समय खर्चिन्छौं । यसको सट्टा हामीले पार्टीको इतिहास, सिद्धान्त, गरेका काम, गरिरहेका काम र गर्ने कामका बारेमा सामाजिक सञ्जालमा समय खर्चिऔं भने मात्र मिसन सफल हुने उनले बताए।
प्रवक्तासमेत रहेका डा महतले भने, “समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन। समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ। हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं।”
प्रकाशित: २ भाद्र २०८०, शनिबार