विपद्मा ‘ड्रोन’को प्रयोग गरिँदै

  • Technology Khabar | १ भाद्र २०८०, शुक्रबार
विपद्मा ‘ड्रोन’को प्रयोग गरिँदै
सांकेतिक तस्विर

काठमाडौं ।

काभ्रेपलाञ्चोकमा विपद्का घटनामा ‘ड्रोन’को प्रयोग गरी थप जनधनको क्षति हुनबाट जोगाउन थालिएको छ।

जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलले एक घटनामा ड्रोन प्रविधिको प्रयोगबाट थप क्षति हुनबाट रोकेपछि यसलाई विपद्को सहयोगीको रुपमा प्रयोगमा ल्याइने भएको हो।

धुलिखेल नगरपालिका–१० स्थित शारदा बतासेमा हालै भएको आगलागीको घटनामा ड्रोनको माध्यबाट आगलागी भएको स्थान आगलागीको फैलावट जानकारी लिएपछि गणले तत्काल उक्त घटनामा आगलागीलाई नियन्त्रणमा गर्नुपर्ने पूर्वतयारीका लागि आवश्यक पर्ने सामग्री र जनशक्तिको व्यवस्थापन गरेको थियो।

“ड्रोनका माध्यमबाट आगलागीको जानकारी लिएपछि आवश्यक सामग्रीसहितको जनशक्ति लिएर घटनास्थल पुगी आगो नियन्त्रणमा लिइएको थियो”, गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने। उनका अनुसार खोज तथा उद्धारमा जानुअघि नै ड्रोनका माध्यमबाट सूचना र अवस्थाका बारेमा जानकारी लिई थप क्षति हुन नदिन प्रविधिलाई प्रयोगमा ल्याइएको हो।

गणले प्रयोगमा ल्याएको ड्रोनको क्षमता १८ किलोमिटर टाढासम्म छ।

जिल्ला सदरमुकाममा रहेको गणले धुलिखेल नगरपालिका क्षेत्रभित्र जुनसुकै स्थानमा विपद्का घटना भएलगत्तै उक्त ड्रोनबाट जानकारी लिई व्यवस्थापन गर्न सकिने सिंहले बताए।

स्थानीय तहले ड्रोनको ज्ञान, सीप तथा जनशक्ति व्यवस्थापन गरे स्थानीय नागरिकलाई विपदबाट हुनसक्ने थप जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताइन्छ। काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन्।

प्रकाशित: १ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार