काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय स्कुटरलाई उच्च प्रबर्द्धन गर्न सुरुआत गरेको छ। यसका लागि बैंक र इको इन्फिनिटी प्रालीबीच द्विपक्षीय सम्झौता भएको छ।
नेपालमा इको इन्फिनिटीले ‘एनआइयू (न्यू) इलेक्ट्रिक’ नामक विद्युतीय स्कुटर पहिलो पटक सन् २०१७ मा भित्र्याएको थियो। सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इको इन्फिनिटी प्रालिकी प्रमुख कार्यकारी अधिकृत डा. मौसम बोहराले हस्ताक्षर गरे।
सो सम्झौताअनुसार अब बैंकले ‘अटो लोन’अन्तर्गत सो कम्पनीद्वारा आयातित ‘न्यू इलेक्ट्रिक’ स्कुटर खरिद गर्दा ८० प्रतिशतसम्म किस्तामा ‘लोन’ प्रवाह गर्नेछ। यस्तो लोन स्कुटरको ‘वारेन्टी’का आधारमा चार वर्षसम्म हुने जनाइएको छ।
सम्झौता हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले वातावरण संरक्षणका लागि नेपालमा विद्युतीय स्कुटर प्रबर्द्धन गर्दै उपभोक्तालाई यसका बानी पार्नु आवश्यक रहेको बताए।
उनले भने, “बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत इको इन्फिनिटी प्रालिसँग सहकार्य गरेको हो। यो सहकार्यले विद्युतीय स्कुटर प्रयोग गर्न चाहने उपभोक्तालाई कोशेढुङ्गाको काम गर्ने मैले विश्वास लिएको छु।”
इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा बोहराले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्तालाई बानी पार्न आफ्नो कम्पनीले सेवाको भावले काम गरिरहेको बताईन्।
उनले भनिन, “न्यू दुईपाङ्ग्रे सवारीसाधन ‘स्मार्ट अर्बन मोबिलिटी’को अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको छ। नेपालमा ८५ हजारभन्दा किलोमिटरभन्दा माथि गुड्न सफल छ।”
‘न्यू ’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा यसले लोकप्रियता हासिल गर्दै गएको सो प्रालीले जनाएको छ। ‘न्यू’ को पोर्टफोलियोमा ६ सिरिजका दुईपाङ्ग्रे सवारीसाधन नेपाली बजारमा उपलब्ध रहेका छन्।
चौथो पुस्ताका ब्याट्री लिथियम टेक्नोलोजीमा आधारित रहेको र यस्ता सवारीसाधनमा ब्याट्री लामो समयसम्म टिक्नेछ। रासस
प्रकाशित: १ भाद्र २०८०, शुक्रबार