
काठमाडौं ।
तीन वर्ष बिदेश बसेर फर्केका बाँके डुडुबाका सोहराब खानले फेरि विदेश जाने तयारी गरिरहेकै बेला ब्याट्री रिक्सा चलाउन थाले। रिक्सा चलाएर दिनदिनै राम्रो आम्दानी हुन थालेपछि उनले विदेश जाने सोच त्यागे।
राहदानी बनाएर भिसाका लागि दौडधुप गरिरहेका नेपालगन्ज-११, इटगाहरोडका नन्कु साईले पनि केही दिनका लागि मात्र भनेर ब्याट्री रिक्सा चलाउन थाले। दैनिक एक हजार पाँच सय रुपियाँभन्दा बढी आम्दानी हुन थालेपछि उनले पनि विदेश जाने सोच त्यागेर राहदानी बाकसमा बन्द गरे।
यो दुई जना त उदाहरण मात्र हुन्। बाँकेमा ब्याट्री रिक्सा भित्रिएपछि चलाउन सुरु गरेका सयौं युवाले विदेशको मोह त्यागेर आफ्नै घरमा परिवारसँग रमाउँदै राम्रो आम्दानी गरिरहेका छन्।
पछिल्लो समय ब्याट्री रिक्सा बाँकेको सहरी र ग्रामीण दुबै क्षेत्रका अधिकांश बेरोजगार युवाको रोजगारीको प्रमुख माध्यम बन्दै गएको छ। जिल्लामा ब्याट्री रिक्सा भित्रिएपछि अधिकांश बेरोजगार युवाले सो सवारीसाधनलाई रोजगारीको माध्यम बनाएका हुन्। सहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्ममा ब्याट्री रिक्साको पहुँच पुगेपछि सयौं युबाले विदेश जाने सोच्न त्यागेर आफ्नै गाउँसहरमा रोजगारमा लागेको बताएका छन्।
नेपालगन्ज-१, धम्बोझोका युवक नरेश गुप्ताले अहिले ब्याट्री रिक्सा चलाएर मासिक ३० देखि ३५ हजार रुपियाँ कमाइरहेकाले विदेश जाने सोच दिमागबाट हटाइसकेको बताए।
कोहलपुरका रमेश थारूले पनि ब्याट्री रिक्सा किनेर चलाउँदा निकै राम्रो आम्दानी भइरहेको बताए। उनले यसबाट सर्वसाधारणलाई सेवासँगै आफ्नो रोजगारीसमेत बनेकाले यसमा निकै आनन्द मिलिरहेको बताए।
बाँकेमा अहिले करिब १५ हजार युवाले ब्याट्री रिक्सा चलाउने कामलाई आफ्नो रोजगार बनाएको अनुमान गरिएको छ।
नेपालगन्जस्थित थोक बिक्रेता सादाब इन्टरप्राइजेजका सञ्चालक कामरान राईले हालसम्म करिब १० हजारभन्दा बढी ब्याट्री रिक्सा बाँकेमा बिक्री गरेको जनाउँदै अधिकांश युवाले किनेको र त्यसैलाई रोजगारीको मुख्य माध्यम बनाएको बताए।
उनले अधिकांश बेरोजगार युवा नै रिक्सा खरिदका लागि आउने गरेको बताए। उनले धेरैलाई केही रकम मात्र जम्मा गराएर किस्ता तिर्ने गरी रिक्सा उपलब्ध गराएको पनि बताए। गोरखापत्रबाट
प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार