दाङको राजपुर मुसिनाकामा टेलिकम सेवा विस्तार हुने

  • Technology Khabar | ३१ श्रावण २०८०, बुधबार
दाङको राजपुर मुसिनाकामा टेलिकम सेवा विस्तार हुने
फाइल तस्विर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रीत रहेको बताइन्। प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताइन्।

भ्रष्टचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिइन्। “सरकारले सुन तस्करी, भुटानी शरणनार्थीलगायत अन्य भ्रष्टचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

सरकारका प्रवक्ता मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गरिन्। “भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ”, उनले भनिन्, “प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ। अनुसन्धान निष्कर्षमा पुर्याउने छौँ।”

मन्त्री शर्माले अर्थतन्त्रमा आएको गिरावटका कारण दाङमा पूर्वाधार विकासका क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न नसिकएको बताइन्। सामाजिक सञ्जाल नियमनका लागि कानूबमोजिम निर्देशिका तयार गरिरहेको जनाउँदै उनले जिल्लाका पत्रकार तथा सरोकारवाला निकायलाई आवश्यक सल्लाह दिन आग्रह गरिन्।

जिल्लाको विकट क्षेत्रका रुपमा रहेको राजपुरको मुसिनाकामा टेलिकम सेवा विस्तारको तयारी भइरहेको उनले जानकारी दिइन्। घोराही–तुलसीपुर चार लेनको सडकको ठेक्का सहमतिमा रद्द गरिएको जनाउँदै काम नगर्ने ठेकेदारसँग सहमति गरी उक्त ठेक्का रद्द गरिएको उनको दाबी छ।

मन्त्री शर्माका अनुसार उक्त सडक मर्मतको लागि काम अगाडि बढेको छ। नयाँ प्रक्रियाबाट सडक निर्माण अगाडि बढ्ने उनको भनाइ थियो। रासस

प्रकाशित: ३१ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया