नेपाल टेलिकमको ग्राहक आम्दानी घट्दोक्रममा, त्रैमासिक नाफामा ६४ करोड २८ लाख रुपैयाँले कमी

  • Technology Khabar | ३१ श्रावण २०८०, बुधबार
नेपाल टेलिकमको ग्राहक आम्दानी घट्दोक्रममा, त्रैमासिक नाफामा ६४ करोड २८ लाख रुपैयाँले कमी
फाइल

काठमाडौं ।

नेपाल टेलिकमले गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा अघिल्लो आवको सोही अवधिको तुलनामा आफ्नो आम्दानी र नाफा दुबै गुमाएको छ।

कम्पनीले सार्वजनिक गरेको असार अन्तिमसम्मको त्रैमासिक वित्तिय प्रतिवेदनअनुसार यो त्रैमासमा ग्राहकहरुबाट हुने आम्दानी ९ अर्ब ४५ करोड ७२ लाख ८३ हजार रहेको छ जबकी अघिल्लो आवमा सोही अवधिमा यस्तो आम्दानी ९ अर्ब ७० करोड १ लाख ७७ हजार रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार त्रैमासिक आम्दानीमा २४ करोड २८ लाख ९४ हजार रुपैयाँले कमी भएको देखिन्छ।

कम्पनीको आम्दानी घटेसँगै कम्पनीले गर्ने नाफामा समेत कमी भएको छ। टेलिकमले सो अवधिमा करिब ६५ करोड रुपैयाँले गुमाएको देखिएको छ। कम्पनीको सार्वजनिक वित्तिय प्रतिवेदनअनुसार सो त्रैमासमा कम्पनीको नाफा २ अर्ब ३९ करोड २५ लाख ५२ हजारमा झरेको छ।

यसअघि अघिल्लो त्रैमासमा यस्तो नाफा ३ अर्ब ३ करोड ५३ लाख ८७ हजार रुपैयाँ रहेको थियो। यसको आधारमा हेर्दा कम्पनीले त्रैमासिक नाफामा ६४ करोड २८ लाख ३५ हजार रुपैयाँले कमी आएको छ।

कम्पनीको आम्दानी र नाफामा कमी आएसँगै प्रति कित्ता शेयर आम्दानी समेत घटेको छ। अघिल्लो आवको सोही त्रैमासमा ४७।०६ प्रति कित्ता शेयर आम्दानी रहेकोमा अहिले यो रकम ४३।२६ रुपैयाँमा झरेको छ।

यस अवधिमा कम्पनीले बजार प्रबर्द्धन र बिक्रीमा हुने खर्च उल्लेख घटाएको भएपनि अन्य प्रशासनिक तथा संचालन खर्च उच्च मात्राले बढाएको तथ्यांकमा देखिएको छ।

प्रकाशित: ३१ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार