Technology Khabar ३० श्रावण २०८०, मंगलवार
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोस) टेरामोक्स समेत भनिने प्रविधि कार्यान्वयनमा नआउने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तक्रियामा टेरामोसलाई लागू नगर्ने बताएको ईकान्तिपुर डटकमले उल्लेख गरेको छ।
‘नागरिकको फोन ट्याप गर्नेसहितको प्रविधि (टेरामक्स) लागू हुँदैन,’ प्रधानमन्त्री दाहालले भने, ‘उपकरणमा खरिदमा करोडौं रुपैयाँ खर्च भए पनि त्यो लागू हुँदैन ।’
उता दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले भने टेरामोसले प्रयोगकर्ताको फोन ट्यापिङ नगर्ने भन्दै त्यसलाई लागू गराउन खोजेको छ।
प्राधिकरणले सेवा प्रदायकहरुको आम्दानी यकिन गर्न तथा राजस्व छली र भीओआईपी जस्ता गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न अगाडि बढाइएको बताउँदै आएको छ।
तर टेलिकम अपरेटरहरुले भने त्यसमा असहमति जनाउँदै आएका छन्। हालै मात्र एनसेलले त्यसको बारेमा अध्ययनकै चरणमा रहेको भनेको छ भने टेलिकमले पनि त्यसलाई रोक्न लबिङ्ग गरिरहेको छ।
प्रधानमन्त्रीले नै टेरामोस प्रविधि कार्यान्वयनमा नआउने बताएपछि करि ३ रुपैयाँभन्दा बढीको योजना अलपत्र पर्ने भएको छ। यसका साथै हाल करिब ५० करोड रुपैयाँ भन्दा बढिमा खरिद गरिएका सफ्टवेयर तथा हार्डवेयर उपकरणहरू प्रयोग विहीन रहेका छन्।
सोमबार मात्रै डिजिटल मानवअधिकारको क्षेत्रमा कार्यरत डिजिटल राइट्स नेपालले पनि राष्ट्रिय साइबर सुरक्षा नीति २०८० को प्रारम्भिक विश्लेषण पत्र जारी गर्दै टेरामोस लागू गर्न नहुने उल्लेख गरेको थियो।
“पछिल्लो चरणमा कानुनी आधार बिना नै नागरिकको बैयक्तिक विवरण एवम् तथ्याङ्कमा पहुँच राख्न टेरामक्स (TERAMOCS) जस्ता सफ्टवेयरको प्रयोगका लागि नियमनकारी निकायले बढाएको दबाबको पृष्ठभूमिमा नेशनल गेटवेले डिजिटल सञ्चारलाई निगरानी र नियन्त्रण गर्ने सरकारको क्षमतालाई थप विस्तारित गर्नेछ र यो नेपालमा नियन्त्रित इन्टरनेटतर्फको यात्राको बैधानिक आधार खडा गर्नेछ,” डिजिटल राइट्स नेपालले भनेको छ।
प्रकाशित: ३० श्रावण २०८०, मंगलवार