Technology Khabar २९ श्रावण २०८०, सोमबार
काठमाडौं ।
एभरेष्ट बैंकले फोनपेसँग सहकार्य गरी नेपाली बजारमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट, “फोनट्याग (FoneTAG)” ल्याएको छ।
फोनट्याग एक अफलाइन भुक्तानी समाधान हो जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई मोबाइल बैंकिङ एपबाट “एनएफसी ट्याग” वा “सीपीक्यूआर” कोड (ग्राहकले प्रस्तुत गर्ने क्यूआर कोड) प्रस्तुत गरेर भुक्तानीहरू गर्न सक्षम बनाउँछ।
अफलाइन कारोबारको सीमा रु.५,००० प्रति कारोबार रहेको छ। यो सेवा एभरेष्ट बैंकका सबै ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत प्रयोग गर्न सक्छन्। हाल, यो सेवा एन. एफ. सी सक्षम एन्ड्रोइड स्मार्ट फोनहरूमा उपलब्ध छ । एनएफसी नभएका मोबाइल फोनमा ग्राहकहरुले सीपीक्यूआर कोड (ग्राहकले प्रस्तुत गर्ने क्यूआर कोड) प्रयोग गर्न सक्ने बताईएको छ।
यस पहल प्रति खुशी व्यक्त गर्दै एभरेष्ट बैंकका उपमहाप्रबन्धक आशुतोष शर्माले भने, “यस सेवामार्फत एभरेष्ट बैंकले ग्राहकको सुविधामा नयाँ गतिशीलता थपेको छ र डिजिटल भुक्तानीको प्रमुख समस्यालाई सम्बोधन गर्न अतिआवश्यक ग्राहक केन्द्रित दृष्टिकोण अपनाएको छ। हाम्रो बैंकिङ प्रणालिमा फोनट्यागको एकीकरणले हाम्रा ग्राहकहरूलाई सुरक्षित र सुविधाजनक डिजिटल भुक्तानीको अनुभव अँगाल्न सशक्त बनाउँछ, जसले प्राविधिक विकासहरूमा सदैब अगाडी रहन एभरेष्ट बैंकको समर्पणलाई जोड दिन्छ।”
फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटाले भने, “फोनपे आफ्नो अफलाइन डिजिटल पेमेन्ट, फोनट्याग सुचारु गर्न पाउँदा गर्व गर्दछ। नेपालमा अफलाइन पेमेन्टको परिचय दिन फोनपेसँग सहकार्य गरेकोमा एभरेष्ट बैंकलाई हामी हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौं।”
प्रकाशित: २९ श्रावण २०८०, सोमबार