
काठमाडौं ।
च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईमा सुपरअलाइनमेन्टका प्रमुख जेन लीकीले कम्पनीमा अनुसन्धानकर्ता, इन्जिनियर र वैज्ञानिकहरूको आवश्यकता रहेको खुलासा गरेका छन्। आवश्यक सीपहरूमा मेसिन लर्निङ, कोडिङ र आलोचनात्मक सोच समावेश हुनेछ।
उनले आर्टिफिसियल इन्टेलिजेन्सको सुरक्षाका लागि उम्मेदवारहरू आफ्नो काममा साँच्चै समर्पित हुनुपर्ने बताए। कम्पनीले जोड दिएको छ कि ओपनएआई ती व्यक्तिहरूको खोजीमा छ जो आफ्नो काममा पूर्ण रूपमा समर्पित छन्, जसले गर्दा एआई मानव नियन्त्रण बाहिर जान नपाओस्।
यसको कारण बताउँदै कम्पनीले एआई विश्वमा राम्रो कामका लागि शक्तिशाली औजार भएपनि यसलाई सुरक्षित र जिम्मेवार ढंगले विकास गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताएको छ। यसका लागि कम्पनीले आफ्नो वेबसाइटमा विभिन्न प्रकारका रिक्त पदहरूको सूची पनि जारी गरेको छ।
यसमा अनुसन्धान इन्जिनियरलाई वार्षिकरुपमा १ लाख ३० हजार डलर अर्थात करिब १ करोड ७० रुपैयाँ भन्दा माथिदेखि करिब ३ लाख ७० हजार डलर अर्थात करिब ५ करोड रुपैयाँसम्मको प्याकेज दिने भनिएको छ। प्याकेजमा कम्पनीले १८ भन्दा बढी बिदा पनि दिनेछ। साथै, भुक्तान गरिएको अभिभावकीय बिदा (२० हप्ता सम्म) र परिवार नियोजन सहायता पनि उपलब्ध गराइनेछ। यसका साथै १५०० डलर सम्मको लर्निंग एण्ड डेभलपमेन्ट स्टाइपेन्ड पनि दिइनेछ।
तलब प्याकेज बाहेक अन्य धेरै सुविधा दिने कुरा पनि कम्पनीले गरेको छ। ओपनएआईबाट यति ठूलो तलब प्याकेज प्रस्ताव गर्नु भनेको विश्वमा एआईको माग निकै तीव्र गतिमा बढिरहेको संकेत हो।
रिपोर्टकाअनुसार सन् २०२५ सम्ममा विश्वव्यापी एआई बजार ३९० अर्ब डलरको पुँजीमा पुग्न सक्नेछ। एआईको बढ्दो माग अनुसार बजारमा एआई पेशेवरहरूको ठूलो अभाव छ। त्यसैले कम्पनीहरू एआई पोजिसनका लागि ठूलो रकम खर्च गर्न तयार छन्।
प्रकाशित: २८ श्रावण २०८०, आईतवार