
काठमाडौं ।
विराटनरमा आगामी भदौदेखि सवारी चार्जिङ स्टेसन सञ्चालनमा आउने भएको छ । विराटनगर–११, बसपार्क परिसरमा निर्मित चार्जिङ स्टेसन प्राविधिक परीक्षणपछि सञ्चालनमा आउने छ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्माण गरेको स्टेसनको अहिले प्राविधिक परीक्षण भइरहेको छ । प्राविधिक परीक्षणपछि यसको औपचारिक सञ्चालन हुने छ ।
चिनियाँ ठेकेदार कम्पनी ‘वानब्याङ डिजिटल इनर्जी कम्पनी’ र नेपाल विद्युत् प्राधिकरणबिचको सम्झौता अनुसार देशभर ५१ चार्जिङ स्टेसन निर्माण भएको हो ।
‘दिगो’ कार्यक्रमका व्यवस्थापक शिव अधिकारीकाअनुसार कोशी प्रदेशका नौ स्थानमध्ये अब विराटनगर र इटहरीका स्टेसन भदौदेखि सञ्चालनमा आउने छन् ।
झापाको बिर्तामोडमा दुई, दमकमा दुई, सुनसरीको इनरुवामा एक, उदयपुरको बेलकामा दुई वटा चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन् । इटहरी र विराटनगरमा निर्माणको काम सकिएकाले अब प्राविधिक परीक्षण सुरु गरिएको हो । गोरखापत्रबाट
प्रकाशित: २७ श्रावण २०८०, शनिबार