
काठमाडौं ।
झापाको काँकडभिट्टामा सिसी क्यामरा जडान गरिएको छ। नाकाको सुरक्षा र निगरानीका लागि सिसी क्यामरा जडान गरिएको हो।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसी क्यामरा जडानपछि गति मापनमा मद्दत पुग्नेछ। मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुई सिसी क्यामेरा जडान गरिएका छन्।
सिसी क्यामराको सवै गतिविधिको निगरानी इलाका प्रहरी कार्यालय काँकडभिट्टा कार्यालयले गर्नेछ। कोशी प्रदेश प्रहरी कार्यालयले काँकडभिट्टाका साथै विराटनगरमा समेत सिसी क्यामरा जडान गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयद्वारा पूर्वी नाका काँकडभिट्टाको पुरानो भन्सारमा जडान गरिएको राडर गनसहितको एएनपीआर सीसी क्यामराले यातायातका साधनको भिडियो, फोटो, नम्बर प्लेट र गति एकैपटकमा रेकर्ड गर्न सक्ने उच्च क्षमता छ।
दुर्घटना र अपराध न्यूनीकरणमा यसबाट सघाउ पुग्ने प्रहरी नायब उपरीक्षक भारती बताउँछन्।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका काँकडभिट्टालाई सुरक्षित सहरका रूपमा विकसित गर्न हरेक चोक र सडकमा सिसी क्यामरा जडान गर्ने कार्य थालिएको छ। मेची सामुदायिक सेवा केन्द्रको संयोजनमा हालसम्म ४२ क्यामरा विभिन्न स्थानमा जडान भइसकेका छन्। रासस
।
प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार