चन्द्रयान-३ ले खिच्यो चन्द्रमाको मनोरम तस्बिर, इसरोले सार्वजनिक गर्यो भिडियो

Technology Khabar २४ श्रावण २०८०, बुधबार

काठमाडौं ।

भारतको चन्द्रयान–३ मिसन चन्द्रमाको नजिक पुगेको छ। भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आइतबार चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको एक दिनपछि यसलाई यसको नजिक ल्याउने अभ्यास सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।

पीटीआई रिपोर्टकाअनुसार चन्द्रयान-३ लाई चन्द्रमाको नजिक पठाउने अर्को प्रक्रिया अगस्ट ९ बुधबार हुनेछ। यसैबीच चन्द्रयान–३ ले चन्द्रमाको भिडियो रेकर्ड गरेको छ।

आइतवार एक ट्वीटमा, इसरोले अन्तरिक्ष यानले चन्द्रमाको नजिक पुग्नको लागि पूर्व निर्धारित प्रक्रिया पूरा गरेको बताएको छ। इन्जिनको ‘रेट्रोफायरिङ’ले चन्द्रयान-३ लाई चन्द्रमाको सतहभन्दा नजिक ल्याएको छ। इसरोले भनेअनुसार चन्द्रयानलाई चन्द्रमाको नजिक ल्याउनको लागि अर्को अभ्यास अगस्त ९ दिउँसो भारतीय समयअनुसार १ बजे र २ बजेको बीचमा हुनेछ।

यस्तै थप ३ प्रकृया आगामी अगस्ट १७ मा सम्म सम्पन्न हुनेछन्। त्यसपछि ल्यान्डिङ मोड्युल ‘प्रोपल्सन मोड्युल’बाट अलग हुनेछ।

रिपोर्टका अनुसार चन्द्रमाको सतहमा अवतरण गर्नुअघि ल्यान्डरमा ‘डि-अर्बिटिङ’ गर्ने काम गरिनेछ। इसरोका अनुसार यसले २३ अगस्टमा चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गर्ने प्रयास गर्नेछ।

यसैबीच, चन्द्रमाको कक्षमा प्रवेश गरेपछि, चन्द्रयान-३ ले यसको भिडियो रेकर्ड गरेको छ भने चन्द्रमाको आश्चर्यजनक फोटोहरू खिचेको छ। इसरोले भिडियो साझा गरेको छ, जसमा चन्द्रमामा धेरै नीलो-हरियो खाडलहरू देखिन्छन्। भिडियो सेयर गर्दै इसरोले लेखेको छ, ‘चन्द्रयान-३ ले चन्द्रमाको कक्षमा प्रवेश गर्दा देखेको चन्द्रमा’।

उल्लेखनीय कुरा के छ भने सन् २०१९ मा चन्द्रयान–२ मिसनको ल्यान्डर चन्द्रमाको सतहमा दुर्घटनाग्रस्त भएको थियो। त्यसको लगत्तै भारतले तेस्रो चन्द्र अभियानको तयारी सुरु गरेको थियो। चन्द्रयान–३ को अवतरणमा कुनै समस्या नहोस् भन्ने कुरामा यसपटक विशेष ध्यान दिइएको छ। मिसनको उद्देश्य चन्द्रयान-३ लाई चन्द्रमामा सफलतापूर्वक अवतरण गर्नु र त्यहाँ हिड्न सक्ने क्षमता प्रमाणित गर्नु हो।

प्रकाशित: २४ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया