सबइन्जिनियरको परीक्षा सञ्चालन भएको छैनः प्रदेश लोक सेवा आयोग

  • Technology Khabar | २२ श्रावण २०८०, सोमबार
सबइन्जिनियरको परीक्षा सञ्चालन भएको छैनः प्रदेश लोक सेवा आयोग
सांकेतिक तस्बिर

काठमाडौं ।

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले इन्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ। लोक सेवा आयोगको नाममा नक्कली सूचना जारी भई परीक्षासमेत सञ्चालन भएको सामाचार सार्वजनिक भएपछि आयोगले सबइन्जिनियर तथा इन्जिनियर पदको परीक्षा सञ्चालन नभएको स्पष्ट पारेको हो।

आयोगका प्रवक्ता हीरालाल चौधरीले अहिलेसम्म आयोगले इन्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नगरेको बताए। उनले भने, “कर्णाली प्रदेशको विज्ञापन तानेर त्यसमा सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको नाम जोडी भ्रम फैलाइएको रहेछ।”

बाँकेस्थित खजुरा गाउँपालिका-२ का मनिष शर्माले सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको नाममा जारी नक्कली सूचनाका आधारमा परीक्षा दिएर ठगीमा परेको समाचार गोरखापत्रमा प्रकाशित भएको छ। गोदावरी नगरपालिकाको अत्तरियास्थित जेके सेकेन्डरी स्कुल पुगेर साउन ७ गते इन्जिनियरको लिखित परीक्षा दिएको दाबी गरे।

सो परीक्षामा करिब एक हजार परीक्षार्थी सहभागी भएकोसमेत उनले जिकिर गरेका छन्। तर जेके सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक ओझाले साउन ७ गते आफ्नो विद्यालयमा कुनै पनि परीक्षा सञ्चालन नभएको बताए। “लोक सेवा आयोगको परीक्षा सञ्चालनका लागि अत्तरियाका विद्यालय परीक्षा सेन्टर हुँदै होइन,” उनले भने।

समाचार स्रोतका अनुसार सुरेन्द्र डाँगी नाम गरेका व्यक्तिले लोक सेवा आयोग परीक्षाको नाममा मनीष शर्मालाई ठगी गरेको देखिएको छ। कर्णाली प्रदेशको विज्ञापनमा सफल भएका उम्मेदबारको नाममा शर्माको नाम राखेर झुक्याइएको देखिन्छ। आयोगले समाचार लेख्ने बाँकेस्थित गोरखापत्रका समाचारदाता, पीडित भनिएका शर्मा र परीक्षा सञ्चालन भएको भनिएका विद्यालयसँग कुरा बुझ्ने कार्य गरेको छ।

आयोगले सहायक पाँचौँ तहको सबइन्जिनियर पदका लागि विज्ञापन भने निकालेको छ। तर, लिखित परीक्षा भने साउन २७ गते सञ्चालन हुने जारी सूचनामा उल्लेख छ। गोरखापत्रबाट

प्रकाशित: २२ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...