काठमाडौं ।
राष्ट्रिय सूचना प्रविधि केन्द (एनआईटीसी) को आम्दानी भन्दा खर्च धेरै गुणा बढी देखिएको छ। एनआईटीसीले गत आर्थिक वर्ष २०७९/८० मा ३४ लाख १८ हजार रुपैयाँ राजश्व संकलन गर्दा ८२ करोड ६९ लाख ९४ हजार रुपैयाँ खर्च गरेको हो।
एनआईटीसीको आम्दानीको तुलनामा खर्च ८२ करोड ३५ लाख ७६ हजार अर्थात २४१६९.८१ प्रतिशत बढी रहेको छ।
गत आवमा एनआईटीसीका लागि ९७ करोड ८ लाख रुपैयाँ बजेज विनियोजन गरिएको थियो। उक्त बजेट मध्ये एनआईटीसीले ८२ करोड ६९ लाख ९४ हजार रुपैयाँ खर्च गरेको छ। समग्रमा एनआईटीसीको वित्तीय प्रगति ८५.१८ प्रतिशत र भौतिक प्रगति ७८.९३ प्रतिशत रहेको एनआईटीसीले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ।
गत आवमा एनआईटीसीले २५ ओटा डीएनएस रिजिस्ट्रेसन, १०२ ओटा वेबसाइट होस्ट, ५ हजार ४२ ईमेल सेवा, ९ ओटा सर्भर कोलोकेशन र १८० भर्चुअलाइजेसन/क्लाउड सेवा प्रदान गरेको छ।
गत आवको चौथो त्रैमासिकमा एनआईटीसीले नागरिक एपमा विभिन्न सरकारी निकायहरुको थप १६ ओटा सेवालाई आवद्ध गरेको छ। साथै ७ ओटै प्रदेशमा नागरिक एप सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ। सूचना प्रविधि आकस्मि सहायता समूहको वेब एप्लिकेसन निमार्ण गरिएको छ। विभिन्न सरकारी निकायहरुलाई भीपीएस दिन सर्भर र स्टोरेज क्षमता वृद्धि गरि सञ्चालन गरिएको छ। यस्तै जीआईडीसीको डाटा सेन्टरमा १ सेट (२४० वटा) ब्याट्री बैंक जडान गरि सञ्चालन गरिएको एनआईटीसीले जानकारी दिएको छ।
प्रकाशित: २२ श्रावण २०८०, सोमबार