बससेवा दशौं वर्षमा प्रवेश, दश दिनसम्म दैनिक १० जनाले निशुल्क यात्रा गर्न पाउने

Technology Khabar २२ श्रावण २०८०, सोमबार

काठमाडौं ।

नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले आफ्नो नवौं वार्षिक उत्सव पूरा गरेको छ। बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तगर्तत रहेर वि.सं २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवाले आइतबारदेखि दशौं वर्षमा प्रवेश गरेको हो।

यस अवधिमा बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्न सक्षम भएको र भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरहरुमा पनि अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

दशौं वर्ष प्रवेश गरेको अवसरमा आइतबार बानेश्वरको शंखमुलमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उदेश्यले आफ्नो सेवा सुरू गरेको बताए। “यस बिचमा विभिन्न उतारचढाव बेहोर्नुपरेपनि आम यात्रु र यातायात व्यवसायीले देखाउनुभएको विश्वास प्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमासेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुनेगरी सेवा विस्तार गर्दै जानेछौं” उनले प्रतिबद्धता व्यक्त गरे।

हाल दैनिक ३ हजार भन्दा बढि यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएको प्रेस विज्ञप्ती उल्लेख छ।

यसै बिच बससेवाले यात्रुहरूलाई बस कुर्ने झञ्झटबाट मुक्त बनाउने उदेश्यले राजधानीको काठमाडौस्थित ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ। सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्जबाट सिधै बस चढ्न सकिने जानकारी दिएको छ।

यसैबिच बससेवाले १० औं वर्ष प्रवेशका अवसरमा दशदिनसम्म हरेक दिन दशजनाले निशुल्क यात्रा गर्न सक्ने अफर सार्बजनिक गरेको छ। हरेक दिन गोलाप्रथा मार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिने जनाएको छ।

प्रकाशित: २२ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया