
काठमाडौं ।
भारतको तेस्रो चन्द्रयान ‘चन्द्रयान–३’ शनिबार चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ। चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्न २२ दिनअघि प्रक्षेपण गरिएको थियो, जहाँ अहिलेसम्म कुनै पनि देश पुगेका छैनन्।
भारतीय अन्तरिक्ष एजेन्सी इसरोले चन्द्रयान-३ लाई चन्द्रमाको कक्षमा ल्याएकोमा खुशी व्यक्त गरेको छ। पीटीआई रिपोर्टका अनुसार चन्द्रयान-३ ले इसरोलाई चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको सन्देश पठाएको थियो।
रिपोर्टकाअनुसार चन्द्रमाको कक्षमा पुग्ने अन्तरिक्ष यान ६०० करोडको चन्द्रयान–३ मिशनका लागि कोसेढुङ्गा हो। जुलाई १४ मा यसको प्रक्षेपण पछि, अन्तरिक्ष यानले चन्द्रमाको दुरीको लगभग दुई तिहाई कभर गरेको छ। अबको १८ दिन यस मिसन र इसरोका लागि निकै महत्वपूर्ण हुने बताईएको छ।
इसरोले चन्द्रयान-३ बाट प्राप्त सन्देश साझा गरेको छ। यसमा लेखिएको थियो, “MOX, ISTRAC, यो चन्द्रयान-३ हो। म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गर्दैछु।” उल्लेखनीय रूपमा, मिशन अपरेशन कम्प्लेक्स (MOX), ISTRAC (इसरो टेलिमेट्री, ट्र्याकिङ र कमाण्ड नेटवर्क), बेंगलुरुले चन्द्रयान-३ लाई चन्द्रमाको कक्षमा ल्याउनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।
इसरोले अर्को महत्वपूर्ण काम आइतबार आज राति भारतीय समयअनुसार ११ बजे गरिने बताएको छ, जब चन्द्रयान–३ को कक्ष घटाइनेछ। यसपछि, अगस्ट १७ सम्ममा थप ३ मिशनहरू पूरा हुनेछन्, त्यसपछि रोभर प्रज्ञानको साथमा अवतरण मोड्युल ‘विक्रम’ अन्तरिक्ष यानको ‘प्रोपल्सन मोड्युल’बाट अलग हुनेछ। त्यसपछि चन्द्रमामा सफ्ट ल्यान्डिङको प्रयास गरिनेछ।
यसअघि १ अगस्टको राती १२ बजे इसरोले चन्द्रयान–३ चन्द्रमाको कक्षतर्फ पठाएको थियो। सबै कुरा योजना अनुसार चल्यो भने चन्द्रयान–३ को सफ्ट ल्यान्डिङ २३ अगस्ट गते भारतीय समयअनुसार साँझ ५ः४७ बजे गर्ने योजना रहेको छ।
चन्द्रमामा सफलतापूर्वक अवतरण गरी त्यहाँ हिड्ने क्षमता प्रमाणित गर्ने यस मिसनको उद्देश्य रहेको छ। हालसम्म अमेरिका, सोभियत संघ र चीन गरी तीन देशले मात्र चन्द्रमामा आफ्नो मिसन अवतरण गर्न सफल भएका छन्।
प्रकाशित: २१ श्रावण २०८०, आईतवार