एथर ४५० एस ११ अगष्टमा प्रस्तुत गरिने

Technology Khabar २० श्रावण २०८०, शनिबार

काठमाडौं ।

एथर इनर्जीले छिट्टै आफ्नो अर्को नयाँ इलेक्ट्रिक स्कुटर ४५० एस ल्याउने भएको छ। कम्पनीले पछिल्लो केही समयदेखि एथर ४५० एसको टीजर जारी गरिरहेको छ। यस्तोमा एथर ४५० एस ११ अगष्टमा प्रस्तुत गरिने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

एथर ४५० एस कम्पनीको सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर हुनेछ। भरतीय बजारमा यसको प्रतिस्पर्धा ओला एस वान एयरसँग हुनेछ। यो स्कुटर एथर ४५० एक्समा आधारित हुनेछ तर मूल्य कटौती गर्न कम्पनीले ४५० एसमा केही फिचर्स कम गर्ने सम्भावना छ।

एथर ४५० एसको मूल्य पहिलै सार्वजनिक भइसकेको छ। यो इलेक्ट्रिक स्कुटर १ लाख २९ हजार भारुको सुरुवाती मूल्यमा बिक्री गरिनेछ। सुरुवाती मूल्य कति दिन र कति ग्राहकले लाभ प्राप्त गर्ने विषयमा हालसम्म कम्पनीले कुनै जानकारी दिएको छैन।

एथर इनर्जीले हालसम्म ४५०एसको डिजाइन, फिचर्स लगायतका जानकारी खुलाएको छैन। एथर ४५० एसमा छुट्टै इन्स्ट्रूमेन्ट क्लस्टर, एलसीडी प्यानल दिइनेछ, तर ४५० एक्सको तुलनामा कनेक्टिभिटी फिचर्स तथा नेभिगेशनल फिचर्स कटौती गरिने छ।

एथर ४५० एसबाट क्लाउड कनेक्टिभिटी, गूगल म्याप फक्शन तथा ब्लूटूथ कनेक्टिभिटी हटाइने सम्भावना छ। यस्तै स्क्रीन कन्ट्रोल गर्न यसमा बटन दिनेछ। फिचर्समा कटौती गरेर ४५०एसको मूल्य कम गर्ने योजनामा कम्पनी छ।

एथर ४५०एसले सिंगल चार्जमा ११५ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसको टप स्पीड ९० किलोमिटर प्रति घण्टा हुनेछ। यी बाहेक कम्पनीले अन्य स्पेसिफिकेशनको जानकारी उपलब्ध गराएको छ।

यसमा ४५० एक्सकै समान मोटर दिइने सम्भावना छ। एथर ४५० एक्समा ३.७ किलोवाट ब्याट्री प्याक र सिंगल चार्जमा १४६ किलोमिटर रेञ्ज प्रदान गर्छ।

प्रकाशित: २० श्रावण २०८०, शनिबार

तपाइको प्रतिक्रिया