किङ्ग्स कलेज र नामी बिच ‘एआई शैक्षिक कार्यक्रम’ सञ्चालन गर्न साझेदारी घोषणा

  • Technology Khabar | १८ श्रावण २०८०, बिहीबार
किङ्ग्स कलेज र नामी बिच ‘एआई शैक्षिक कार्यक्रम’ सञ्चालन गर्न साझेदारी घोषणा

काठमाडौं ।

किङ्ग्स कलेज र नेपालको शीर्ष अनुसन्धान संस्थान नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी)ले संयुक्तरुपमा आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धी शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।

काठमाडौंको बबरमहलस्थित किंड्स कलेजमा आयोजीत एक पत्रकार सम्लेनमा किङ्ग्स कलेज र नामीले बुधबारएक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नै एआई शैक्षिक पाठ्यक्रमअन्तर्गतको ६ महिने कक्षा सञ्चालन गर्ने जानकारी दिए।

यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी विभिन्न विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताइएको छ।

किङ्ग्स कलेज र नामीले व्यक्ति तथा संस्थाहरूको विशिष्टीकृत आवश्यकता परिपूर्ति गर्नको लागि आवश्यक उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि हातेमालो गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कार्यक्रमको प्रथम चरणमा सूचना प्रविधि तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेका व्यक्तिहरुलाई लक्षित गरिए तापनि पछि आर्टिफिसियल इन्टेलीजेन्स् क्षेत्रमा रुचि राख्ने जो कसैले पनि यस शैक्षिक शिक्षण कार्यक्रममा सहभागी हुन पाउने जानकारी कलेजले दिएको छ। त्यसैगरी यस कार्यक्रममा सहभागी हुन चाहनेहरुले पाइथन प्रोग्रामिङ चलाउन जानेको हुनुपर्ने उल्लेख छ।

“पछिल्लो समय विश्वमै मूलधार प्रवृत्तिको रुपमा विकास भइरहेको आर्टिफिसियल इन्टिलीजेन्स्को क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उद्देश्यका साथ यस शैक्षिक कार्यक्रमका लागि नामीसँग साझेदारी गरिएको हो”, किङ्ग्स कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालले भने।

“आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धी हामीले सञ्चालन गर्न लागेको शिक्षण कार्यक्रम सोही परियोजनाहरू मध्येको एक हो, जसबाट हासिल हुने ज्ञानले नेपालमा पनि विभिन्न जटिल क्रियाकलापहरू सहजताका साथ सम्पन्न गराउन सकिने एवं आर्थिक क्षेत्रमा चलायमान ल्याउन सकिने छ,” प्रेसिडेन्ट अर्यालले थप भने।

यसका साथै विद्यार्थीहरुले आर्टिफिसियल इन्टेलीजेन्स्को क्षेत्रमा रोजगारीका साथसाथै ब्यवसायमा पनि सफलता हासिल गर्न सकून् भन्ने यस कार्यक्रमको अभिप्राय रहेको उल्लेख छ।

“विश्वव्यापी क्षेत्रमा आर्टिफिसियल इन्टिलीजेन्स्को तीव्र विकास भइरहेको परिप्रेक्षमा नेपालमा पनि यस क्षेत्रप्रति आम मानिसको चासो र रुचि बढिरहेको यथार्थलाई ध्यानमा राखी यस बारे विश्वका उत्कृष्ट प्रयोगशाला र विश्वविद्यालयमा अध्यापन र अन्वेषण गरिरहेका एआई विज्ञहरूको प्रत्यक्ष संलग्नतामा प्राज्ञिक शिक्षा प्रदान गरिने छ” नामीका संस्थापक तथा निर्देशक डा. विशेष खनालले भने।

प्रकाशित: १८ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार