
काठमाडौं ।
नेपालमा इलेक्ट्रिक सवारीको आयात बढ्दो क्रममा देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा इलेक्ट्रिक कारको आयात दुई गुणा भन्दा बढीले बढेको छ।
भन्सार विभागको तथ्यांक अनुसार गत आवको असार मसान्तसम्म ४ हजार ५० यूनिट इलेक्ट्रिक कार नेपाल भित्रिएको छ। अघिल्लो आवमा १ हजार ८०७ यूनिट इलेक्ट्रिक कार नेपाल आएको थियो। अघिल्लो आवको तुलनामा गत आवमा इलेक्ट्रिक कारको आयात २ हजार २४३ यूनिट अर्थात १२३.९८ प्रतिशतले बढेको छ।
इलेक्ट्रिक कारको संख्यासँगै आयात रकम पनि दुई गुणाले बढेको छ।
गत आवमा ११ अर्ब ८४ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार आयात भएको छ। अघिल्लो आवमा ५ अर्ब ३२ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार आयात भएको थियो। अघिल्लो आवको तुलनामा गत आवमा ६ अर्ब ५२ करोड ३ लाख ४५ हजार रुपैयाँले आयात बढेको छ।
गत आवमा इलेक्ट्रिक कारको आयातबाट सरकारले ३ अर्ब ३० करोड ४४ लाख ८७ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
नेपालमा चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र अमेरिकाबाट इलेक्ट्रिक कार आयात हुने भन्सार विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा सबैभन्दा बढी इलेक्ट्रिक कार भारतबाट भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। गत आवमा भारतबाट २ हजार २७७ यूनिट इलेक्ट्रिक कार नेपाल ल्याइएको छ।
चीनबाट १ हजार ३७१ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
दक्षिण कोरियाबाट ३८१ यूनिट, इन्डोनेसियाबाट ११ यूनिट र अमेरिकाबाट १० यूनिट इलेक्ट्रिक कार नेपाल आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
प्रकाशित: १७ श्रावण २०८०, बुधबार