
काठमाडौं ।
अमेरिकी स्मार्टफोन बजार यस वर्षको दोस्रो त्रैमासिकमा वार्षिक दरमा २४ प्रतिशतले संकुचित भएको काउन्टरपोइन्टको बजार अनुसन्धानले जनाएको छ। साथै त्रैमासिकमा आएको उक्त गिरावट यो लगातार तेस्रो पटक हो।
सामसङ, मोटोरोला र टीसीएल–अल्काटेल जस्ता उत्पादकहरूले ढुवानीमा सबैभन्दा ठूलो गिरावट देखेका जीएसएमएरिनामा उल्लेख गरिएको छ।
सामसङ, मोटोरोला र टीसीएल–अल्काटेलको ढुवानी क्रमशः ३७ प्रतिशत, १७ प्रतिशत र ६९ प्रतिशतले घटेको छ। यद्यपी एप्पलको ढुवानी केवल ६ प्रतिशतले संकुचित भएको र विश्लेषकहरूकाअनुसार आगामी आईफोन १५ सिरिजको लागि अपेक्षाहरू उच्च रहने उल्लेख गरिएको छ। त्यसैगरी गुगलले आफ्नो ढुवानीलाई ४८ प्रतिशतले बढाएको छ।
२०२३ को दोस्रो त्रैमासिकमा एप्पल ५५ प्रतिशत सेयरको साथ अमेरिकी बजारमा अग्रस्थानमा रहेको छ भने दोस्रो र तेस्रो स्थानमा रहेको सामसङ र मोटोरोलाको क्रमशः २३ प्रतिशत र ९ प्रतिशत बजार हिस्सा रहेको छ।
त्यसैगरी समग्र बजार अवस्थाको विपरीत फोल्डेबलहरूले भने उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख छ। सामसङ मात्र नभएर मोटोरोलाको रेजर ४० र ४० अल्ट्रा तथा गुगलले पनि आफ्नो पहिलो पिक्सेल फोल्ड जारी गरेसँगै फोल्डेबलको प्रतिस्पर्धा बढेको छ।
नयाँ सामसङ ग्यालेक्सी जेड फोल्ड५ र जेड फ्लिप५ को रिलीजसँगै, फोल्डेबलहरूको बजार आगामी त्रैमासिकमा नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको छ।
विश्लेषकहरूले स्मार्टफोनको बजार घट्नुमा हालको आर्थिक उथलपुथललाई दोष दिएका छन्। मानिसहरू अपग्रेड गर्नमा हिचकिचाइरहेको र तेस्रो त्रैमासिकभरीमा कम अपग्रेड दरहरू जारी रहने विश्लेषकहरुको अनुमान छ।
प्रकाशित: १६ श्रावण २०८०, मंगलवार