
काठमाडौं ।
टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूब एस नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि टीभीएसको मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस आईक्यूब एस नेपालमा ल्याएको हो।
मिस्ट ब्लू र ग्रे कलरमा उपलब्ध टीभीएस आईक्यूब एसको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ। कम्पनीसँग हाल सिमित स्टक रहेकाले नक्सा, सानोभर्याङ, टेकु र कान्तिपथ शोरुमा मात्र बिक्रीका लागि उपलब्ध छ।
नेपालमा टीभीएस आईक्यूब एस भेरियन्ट उपलब्ध भएसँगै कम्पनीले प्रि बुकिङ र टेस्ट राईड पनि खुल्ला गरिरहेको छ। टीभीएस आईक्यूब एस किन्न इच्छुक ग्राहकले ती चार शोरुम मार्फत टेस्ट राईड र ५ हजार रुपैयाँ भुक्तानी गरेर बुकिङ गर्न सक्नेछन्।
टीभीएसले जनवरी २०२० मा भारतमा आईक्यूब इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको थियो। भारतमा सार्वजनिक भएको करिब ४ वर्ष पछि मात्र आईक्यूब नेपालमा बिक्रीका लागि उपलब्ध भएको हो।
हाल टीभीएस आईक्यूब तीन भेरियन्ट टीभीएस आईक्यूब एसटी, टीभीएस आईक्यूब एस र टीभीएस आईक्यूबमा उपलब्ध छ। नेपालमा भने बिक्रीका लागि टीभीएस आईक्यूब एस भेरियन्ट ल्याइएको कम्पनीले जानकारी दिएको छ।
टीभीएस आईक्यूब एसमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयोन ब्याट्री ब्याट्री दिइएको छ। इलेक्ट्रिक स्कुटरले ४.४ किलोवाट पिक पवारमा १४० एनएम टर्क प्रदान गर्छ।
टप स्पीड ७८ किलोमिटर प्रति घण्टा रहेको इलेक्ट्रिक स्कुटरले ४.२ सेकेन्डमा ० देखि ४० किलोमिटरको गति लिन सक्षम छ। इकोनोमी मोडमा १०० किलोमिटर र पवार मोडमा ७५ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
६५० वाटको होम चार्जरबाट ४ घण्टा ३० मिनेटमा ० देखि ८० प्रतिशत चार्ज हुन्छ। त्यस्तै फास्ट चार्जर मार्फत २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ।
टीभीएस आईक्यूब एसको ग्राउण्ड क्लियरेन्स १५७ एमएम, ह्वीलवेस १३०१ एमएम रहेको छ। ब्रेकिङका लागि रियरमा १३० एमएम ड्रम फ्रन्टमा २२० एमएम डिक्स ब्रेक दिइएको छ।
प्रकाशित: १५ श्रावण २०८०, सोमबार