नेपालमै पहिलो पटक एलईडी बोर्डमा स्मार्ट क्यूआरको नोटिफिकेशन सेवा सुरु

  • Technology Khabar | १५ श्रावण २०८०, सोमबार
नेपालमै पहिलो पटक एलईडी बोर्डमा स्मार्ट क्यूआरको नोटिफिकेशन सेवा सुरु

काठमाडौं ।

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर (Smart QR) नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्ड (LED Board) मा क्यूआर भुक्तानीको रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन्।

क्युआरमार्फत हुने भुक्तानी वृद्धि हुँदै गईरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीको लागि कुर्नुपर्ने बाध्यता थियो।

टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाइ हुँदा तथा कहिलेकाहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टहरूलाई कारोबार पुरा भएको यकिन गर्न कठिन भइरहेको थियो। साथै ग्राहकहरूको चाप धेरै भएको  मर्चेन्ट लोकेसनमा एसएमएस मार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या थियो।

त्यसै गरी एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवैलाई अप्ठ्यारो भइरहेको थियो। एससिटिले  मर्चेन्टहरुलाई मोबाइल तथा वेब लगइनमार्फत पनि कारोबार हेर्न, पैसा जम्मा तथा फिर्ता गर्न मिल्ने सुविधा सुरुवाती दिनहरू देखिनै दिँदै आइरहेको छ। सोही कारोबारको अलर्ट प्राप्तिकै लागि मोबाइल तथा वेब लगइन चलाईराख्न समेत कारोबार धेरै हुने ठाउँहरूमा  झन्झटिलो तथा समय खर्चिनु पर्ने परिस्थिति थियो।

अब एलईडी स्क्रिनमा कारोबार भए लगत्तै कारोबारको रकम देखिने हुँदा कारोबार पूर्ण भए नभएको सहजै यकिन गर्न सकिने छ। एलईडी  स्क्रिन  जडान गर्न सजिलो र सरल छ। यसलाई एससिटिले प्रदान गर्ने मोबाइल एप्लिकेसन द्वारा सजिलै कन्फिगर गर्न सकिन्छ  स्मार्ट क्युआरमा आबद्ध बैङ्क तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरू द्वारा स्मार्ट क्युआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरूले यो सुविधा लिन सक्ने कम्पनीको भनाई छ।

मोबाइल एपद्वारा नै नेटवर्क तथा स्क्रिनको ब्राइटनेश पनि मिलाउन सकिन्छ। स्क्रिनमै कारोबारको रकम देख्न सकिने भएकाले भिडभाड तथा हल्ला खल्ला हुने ठाउँमा यो प्रविधि निकै नै उपयुक्त  तथा प्रभावकारी भएको दाबी छ।

पाथीभरा सेन्सर सोलुसनको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरु गरेको हो। सेवा लिन इच्छुक ग्राहकहरूले स्मार्ट क्युआरमा आबद्ध बैंक तथा वालेटहरूमा गई यो सुविधाको लागि आवेदन दिनसक्ने जनाएको छ।

प्रकाशित: १५ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार