
काठमाडौं ।
एप्पलको आईफोनका लागि विश्वभर नै निकै क्रेज रहेको छ। महंगो फोन किन्नका लागि मानिसहरुले विभिन्न उपायहरु अपनाउने गरेका छन्। हालै त्यस्तै घट्ना भारतमा घटेको छ।
छिमेकी भारतको पश्चिम बंगालको उत्तर २४ परगना जिल्लामा आईफोन फाइनान्स गर्नका लागि एक दम्पतीले आफ्नो शिशु बच्चालाई बेचेको खबर बाहिरिएको छ। निम्न आयस्रोत भएका उक्त दम्पतीले आईफोन १४ किनेर इन्स्टाग्राम रीलहरू सिर्जना गर्नको लागि आफ्नो शिशुलाई बेचेको उल्लेख छ।
प्रहरीले उक्त घटनामा संलग्न बालिकाकी आमा, साथी र प्रियंका घोष (आरोपित शिशु खरिदकर्ता) लाई नियन्त्रणमा लिएको गीज्मोचाइनाको रिपोर्टमा उल्लेख गरिएको छ। यद्यपी बुबा जयदेव भने प्रहरीले खोजी गरेदेखि फरार रहेको छन्।
दम्पतीको अचम्मको व्यवहारका साथसाथै उनीहरुको शिशु अचानक हराएपछि छिमेकीहरूले सचेत भएर प्रहरीलाई खबर गरेका थिए।
आमाले आफ्नो शिशुको अवैध बिक्री स्वीकार गरेको र उनीहरूले इन्स्टाग्राम रीलहरू सिर्जना गर्न भनेर पश्चिम बंगालको वरिपरि यात्रा गर्नका लागि सो कमाइ प्रयोग गरेको संकेत गर्दै दुःखदायी जानकारी दिएकि छन्।
अनुसन्धानको द्वौरानमा बुबाले आफ्नो सात वर्षीया छोरीलाई पनि बेच्न खोजेको आरोप पनि बाहिर आएको छ।
पश्चिम बंगालको यो डरलाग्दो घटना कुनै पृथक घटना होइन। विश्वव्यापी रूपमा, यस्तै त्रासदीपूर्ण कथाहरू देखा परेका छन्। सन् २०१६ मा, एक चिनियाँ दम्पतीले पनि आईफोन किन्नको लागि आफ्नो नवजात शिशु कथित रुपमा बेचेका थिए।
प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार