एन्ड्रोइडमा स्याटेलाइटमार्फत एसएमएस सेवा आउने, शुरुमा पिक्सेल र सामसङ ग्यालेक्सी फोनमा समावेश हुने

Technology Khabar १० श्रावण २०८०, बुधबार

काठमाडौं ।

एप्पलले गत वर्ष आईफोन १४ सिरिजमा स्याटेलाइट कनेक्टिभिटी फिचर प्रस्तुत गरेको थियो। साथै उक्त स्याटेलाइट कनेक्टिभिटी फिचर स्मार्टफोनहरूको लागि एक ग्राउन्डब्रेकिङ्ग फिचर भएको उल्लेख छ।

यस स्याटेलाइट कनेक्टिभिटी फिचर समावेश भएका उपकरणका प्रयोगकर्ताहरूलाई कुनै विशेष हार्डवेयर बिना नै कुनै सेलुलर वा वाइफाइ कभरेज उपलब्ध नभएका दुर्गम स्थानहरूबाट इमर्जेन्सी मेसेज अलर्ट (आपतकालीन सन्देश अलर्ट) हरू पठाउन अनुमति दिन्छ।

एप्पल बाहेक ह्वावेले पनि मेट ५० सिरिज र पी६० सिरिज स्मार्टफोनहरूमा स्याटेलाइट कनेक्टिभिटी समर्थन समावेश गरेको उल्लेख छ। अब, उक्त फिचरलाई अन्य एन्ड्रोइड फोनहरूमा पनि समावेश गरिने अपेक्षा गरिएको छ।

एन्ड्रोइड १४ भएका डिभाइसले एसएमएस प्राप्त गर्ने

एन्ड्रोइड फोनहरूका स्याटेलाइट कनेक्टिभिटी फिचरले मोबाइल सञ्चार प्रविधिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। टिमपिक्सेल एफसीको ट्विटर एकाउन्टको एक ट्वीटले एन्ड्रोइड १४ ले स्याटेलाइट कनेक्टिभिटी फिचर मार्फत एसएमएस पठाउने क्षमता प्राप्त गर्ने खुलासा गरेको छ। साथै एन्ड्रोइड १४ को अन्तिम स्टेबल भर्सन (स्थिर संस्करण) केहि हप्ता टाढा रहेको बताईएको छ।

अर्को ट्वीटमार्फत उक्त फिचरले काम गर्नको लागि प्रयोगकर्ताका डिभाइसहरूमा उपयुक्त हार्डवेयर पनि चाहिने थप उल्लेख गरेका छन्। तसर्थ, यो फोन निर्मातामा निर्भर हुने गीज्मोचाइनाले रिपोर्टिङ्ग गरेको छ।

त्यसैगरी गुगल पिक्सेल र सामसङ ग्यालेक्सी स्याटेलाइट फिचर मार्फत एसएमएसको साथ आउने पहिलो फोनहरू हुने उल्लेख छ। साथै यस टेक्नोलोजीलाई समर्थन गर्ने एन्ड्रोइड १४ डिभाइसहरुमा यो फिचर बेक्ड–इनको रुपमा हुनेछ।

सामसङले ग्यालेक्सी एस२३ सिरिजमा स्याटेलाइट कनेक्टिभिटी फिचर मार्फत एसएमएस समावेश गर्ने अपेक्षा गरिएको भएतापनि त्यस समयमा यो तयार नभएको हुनाले यसलाई त्यतिखेर पास गरिएको उल्लेख छ। यद्यपि, अर्को पुस्ताको ग्यालेक्सी एस२४ लाईनअपमा यस प्रविधिलाई सहभागी गरिने बताईएको छ।

एप्पलको “इमर्जेन्सी एसओएस भिया स्याटेलाइट” धेरै परिस्थितिहरूमा जीवन बचाउने सुविधा भएको छ। तसर्थ, भविष्यमा एन्ड्रोइड फोनहरूको लागि उक्त फिचर पनि उपयोगी हुने अपेक्षा रहेको छ।

प्रकाशित: १० श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया